वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न प्रचण्डको आग्रह

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका– २ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् । 

दिवंगत यादवको स्मृतिमा आज महोत्तरीमा भएको श्रद्धाञ्जली सभामा उनले यस्तो आग्रह  गरेका हुन् । वडाध्यक्ष यादवको शव यही भदौ ९ गते महोत्तरीको बर्दीबास र औरही नगरपालिकाको सिमानामा फेला परेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरूले उनको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् । 

वडाध्यक्ष यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरू केही दिनअघि राजधानीसम्म आएका थिए । 

अध्यक्ष दाहालले यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि त्यसका लागि आग्रह गरिने जानकारी दिँदै त्यसमा लापरबाही नगर्न अनुरोध गरे । यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले स्थानीयले निरन्तर आवाज उठाइरहनुपर्ने बताएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ । 

माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेशको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यादवको स्मृतिमा प्रतिष्ठान गठन गर्न र उनका  छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टी नेतृत्वलाई निर्देशन दिए । उनले  यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 


मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेजस्तो देखिने बताइन् ।  उनले  श्रीमानकाे निधनको सत्यतथ्य पत्ता लागे आफूहरूलाई न्याय हुने उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अध्यक्ष प्रचण्डसँग अनुरोध गरिन् । 

See More On

सुझावित समाचार