काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिन सबैलाई आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले पछि सरकारले ल्याएको अर्काे मापदण्डमार्फत धोका पाउनेमा सचेत गराएका छन्।
उनले प्रधानमन्त्री केपी शर्मालाई लक्षित गर्दै पोहोर मरिन् सासू अहिले आयो आँसु भनेर व्यंग्य गरेका छन् । उनले भनेका छन्, ‘म काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईंले थाहा पाउनुभन्दा पनि तीन वर्षअगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले ०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो । त्यति वेला अहिले प्रधानमन्त्री रहेका खड्गप्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो।उहाँले नियुक्त गर्नुभएको महान्यायाधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाडाैंको मेयर विद्यासुन्दर शाक्य । यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि, नदीतट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यही हो । पक्ष–विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट) गर्ने अधिकार रहन्छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यीमध्ये कसैको असहमति रहेन । हामीले खोज्ने जवाफ यति हो, त्यो वेला किन पुनरावेदनमा गएनन् ? कि भन्नुपर्याे, त्यो वेला हाम्रो बुद्धि पुगेन । या भन्नुपर्याे, अहिले हाम्रो दाउ अर्कै छ। उहिलै मरिन् सासू, अहिले आए आँसु किसिमको अवसरवादी चरित्रबारेमा प्रश्न गर्नैपर्छ । हाम्रो सधैँ त्यही कुरा छ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनुहोला। अन्यथा, पछि धोका पाउनुहुनेछ सरकारबाट अर्को मापदण्ड ल्याएर ।’