एकनारायण अर्याल : नायब सुब्बादेखि मुख्यसचिवसम्म

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ भदौदेखि लागू हुने गरी अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । 

हाल मुख्यसचिवमा बहाल लीलादेवी गड्तौलाले ५८ वर्षे उमेरहदका कारण शनिबारदेखि अवकाश पाउन लागेकाले रिक्त स्थानमा अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो । 

भ्रष्टाचार मुद्दाले तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेपछि नै मुख्यसचिवमा अर्याल चर्चामा थिए । बिचमा एक महिना कार्यकाल रहेकी लीलादेवी गड्तौलालाई सरकारले मुख्यसचिव बनायो । अहिले उनको कार्यकाल सकिने अन्तिम प्रहरमा सरकारले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

हाल मुख्यसचिवमा बहाल गड्तौलाको पदावधि १५ गतेसम्म रहे पनि त्यसदिन शनिबार परेकाले दुई दिनअघि नै मन्त्रिपरिषद्बाट नयाँ मुख्यसचिवको नियुक्ति भएको हो । कार्यकाल शनिबारसम्म रहे पनि मुख्यसचिव गड्तौलाको अन्तिम कार्यालय दिन शुक्रबार रहनेछ भने आइतबारदेखि अर्यालले मुख्यसचिवको कार्यभार सम्हाल्नेछन् । 

स्याङ्जा जन्मस्थान भएका अर्यालले अब करिब दुई वर्ष मुख्यसचिवका रूपमा कार्य गर्नेछन् । विद्यमान निजामती सेवा ऐनले निजामती कर्मचारीको उमेरहद ५८ वर्ष तोकेको छ । मुख्यसचिवको कार्यकाल तीन वर्ष हुने भए पनि विद्यमान कानुनी व्यवस्थाअनुसार उमेरहदका कारण आफू करिब दुई वर्ष मुख्यसचिवमा बहाल रहने अर्यालले बताए । 

मन्त्रिपरिषद्बाट मुख्यसचिवमा नियुक्तिको निर्णयपश्चात् अर्यालले पदमा रहँदा सुधारका अधिकतम प्रयास गर्ने प्रतिक्रिया दिएका छन् । ‘निजामती प्रशासनमा सुधार गर्दै सेवालाई प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने मेरो योजना छ,’ नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै उनले भने, ’संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रयत्न पनि गर्नेछु ।’ 

मुख्यसचिवका लागि सचिवहरू डा. तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराईसमेत प्रतिस्पर्धामा भए पनि अर्याललाई सरकारले छानेको हो । राष्ट्रिय योजना आयोगमा कार्यरत ज्ञवालीले भने राजीनामा दिएका छन् । उनको पदावधि २२ भदौसम्म थियो । उनको राजीनामा बिहीबारकै मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । 

नवनियुक्त मुख्यसचिव अर्याल ४ माघ ०४६ मा नायब सुब्बा पदबाट निजामती सेवा प्रवेश गरेका थिए । ४ फागुन ०५१ मा शाखा अधिकृत, ६ माघ ०५८ मा उपसचिव र १९ फागुन ०६७ मा उनी प्रतिस्पर्धाबाटै सहसचिव भएका हुन् । 

१८ फागुन ०७६ मा उनी सचिवमा नियुक्त भएका थिए । पाँचवर्षे पदावधिका कारण आगामी १८ फागुनमा सेवानिवृत्त हुन लागेका उनी त्यसको ६ महिनाअघि नै मुख्यसचिवमा नियुक्त हुन सफल भएका छन् । निजामती सेवामा उनले ३४ वर्ष सात महिना गुजारेका अर्याल अनुभवी र क्षमतावान प्रशासक मानिन्छन् । 

३० फागुन ०८० देखि गृहसचिवका रूपमा कार्यरत अर्याल त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए । काठमाडौंसहित तनहुँ र मकवानपुरको प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (सचिव)  र कोलकाताको महावाणिज्य दूतलगायतका महŒवपूर्ण जिम्मेवारीमा समेत रहेर काम गरेको अनुभव अर्यालसँग छ । 

नायब सुब्बादेखि मुख्यसचिवसम्म
नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल ४ माघ ०४६ मा नायब सुब्बा पदबाट निजामती सेवा प्रवेश गरेका थिए । ४ फागुन ०५१ मा शाखा अधिकृत, ६ माघ ०५८ मा उपसचिव र १९ फागुन ०६७ मा उनी प्रतिस्पर्धाबाटै सहसचिव भए ।

१८ फागुन ०७६ मा उनी सचिवमा नियुक्त भएका थिए । पाँचवर्षे पदावधिका कारण आगामी १८ फागुनमा सेवानिवृत्त हुन लागेका उनी त्यसको ६ महिनाअघि नै मुख्यसचिवमा नियुक्त हुन सफल भएका छन् । १५ भदौबाट कार्यभार सम्हाल्ने उनको कार्यकाल करिब दुई वर्षको हुनेछ ।

सुझावित समाचार