छेडागाड नगरपालिकामा बालबालिकाले लगाए ताला

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

जाजरकोटको छेडागाड नगरपालिकामा बालबालिकाले ताला लगाएका छन्। शुक्रबार नगरपालिकाको प्रशासनिक भवनमा नगर बाल सञ्जालले ताला लगाएको हो ।

बाल श्रममुक्त छेडागाड नगरपालिका घोषणा कार्यक्रमका लागि बिनियोजन गरिएको बजेट हिनामिना गरेको भन्दै ताला लगाएको नगर बाल सञ्जाल छेडागाडका अध्यक्ष हेमराज दाहालले बताए।

गत आर्थिक ०८०/८१ मा निनियोजन भएको बजेटमा ग्रामीण विकास केन्द्र बैतडीले आर्थिक अनियमितता गरेकाले ताला लगाएको अध्यक्ष दाहालको भनाइ छ। बालश्रममुक्त नगरपालिका घोषणा कार्यक्रमका लागि सम्झौता गरेको ग्रामीण विकास केन्द्र बैतडीले किर्ते, जालसाजी कागजात बनाएर रकम दुरुपयोग गरेको उनीहरूको आरोप छ।

श्रम मन्त्रालयमार्फत आएको बजेटमा कुनै दुरुपयोग नभएको ग्रामीण विकास केन्द्र बैतडीका अध्यक्ष विष्णुदत्त जोशीले बताए। बाल श्रमिकसम्बन्धी कार्यक्रम जिल्लाका ६ स्थानीय तहमा भए पनि छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा मात्र काम गरिएको उनको भनाइ छ। उदार, व्यवस्थापन र पुनर्स्थापनाका लागि अध्ययन भएको बालबालिकाको बजेट दुरुपयोग नभएको जोशीको दाबी छ।

सुझावित समाचार