अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत गएराति आएको अविरल वर्षाले कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।
सो ठाउँमा आएको बाढीपहिराेले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ। विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँहरूमा सडकको स्तराेन्नतिसम्बन्धी निकायको ध्यान जान नसक्दा वर्षाैँदेखि कर्णालीका आमनागरिकले दुःख पाउने गरेका छन् ।
सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बिचबाटोमा रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् ।