आइएमई लाइफद्वारा पहिरोपीडित परिवारलाई राहत प्रदान

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड जिल्ला शाखा गुल्मीले सातौँ वार्षिकाेत्सवको अवसरमा पहिरोपीडित परिवारलाई राहत प्रदान गरेको छ। मुसिकोट नगरपालिका– १ थाम बिसौनाका तीन घरपरिवारलाई कम्पनीले ६५ हजारबराबरको खाद्यान्य, लत्ताकपडा र भान्साका सामग्री प्रदान गरेको शाखा प्रबन्धक विमल छन्तेलले बताए । 

उनले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत पहिरोले मानवीय तथा भौतिक क्षति भएको मुसिकोटमा सहयोग गरिएको बताए। इन्स्युरेन्स कम्पनीको क्षेत्रीय शाखा प्रबन्धक खुमलाल अर्यालले मुसिकोट नगरपालिकाका उपमेयर गंगा श्रेष्ठ, मुसिकोट नगरपालिका– १ कार्यवाहक वडाध्यक्ष पीडित विष्णु खातीलगायतको रोहवरमा परिवारलाई राहत प्रदान गरेका थिए ।

कम्पनीले वृक्षरोपण, सचेतना अभिमुखीकरण, विपतबाट प्रभावितलाई राहत, फरक क्षमता भएका विद्यार्थीलाई अध्ययन सामग्री सहयोग, स्वास्थ्य शिविर, सरसफाइ सामग्री सहयोग र रक्तदान कार्यक्रम देशैभर गरेकाे क्षेत्रीय प्रबन्धक खुमलाल अर्यालले जानकारी दिए ।

मुसिकोट नगरपालिकाकी उपमेयर गंगा श्रेष्ठले वार्षिकाेत्सवको अवसरमा विपतबाट प्रभावित विपन्न दलित परिवारमा राहत प्रदान गर्ने आइएमई लाइफप्रति आभार प्रकट गरिन्। मुसिकोट नगरपालिका– १ बिसौनामा २२ साउन गतेको पहिरोका कारण हुकुमबहादुर विक, मसुरी विक, ओमबहादुर विक र रियान्सी विकको मृत्यु भएको थियो । पहिरोमा घाइते विष्णु विक र मुना विकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।  

सुझावित समाचार