हैजा महामारी नियन्त्रणका लागि ध्यानाकर्षण प्रस्ताव दर्ता

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले तीव्र रूपमा संक्रमण बढिरहेको हैजा रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छिन् ।

प्रतिनिधिसभा नियमावली नियम ७२ बमोजिम हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धमा स्वास्थ्य र खानेपानीमन्त्रीको ध्यानाकर्षण गराउन सांसद कार्कीले प्रस्ताव दर्ता गराउँदै सभामुख देवराज घिमिरेलाई बुझाएकी हुन् । 

ध्यानाकर्षण प्रस्तावमार्फत मन्त्रीसँग स्पष्टीकरण माग गर्न सांसदहरू डा. चन्दा कार्की भण्डारी, सोविता गौतम, मनीष झाले सूचीमा नाम राखेका छन् । प्रस्तावको समर्थकमा सुमना श्रेष्ठ, गणेश पराजुली, शिव नेपाली, हरि ढकाल, विनिता कठायत, निशा डाँगी, बिन्दवासिनी कंसाकार, असिम शाह, अशोककुमार चौधरी छन् । 

वर्षायामसँगै यस वर्ष ७ साउनमा ललितपुरमा एक बिरामीमा हैजा पुष्टि भएको र कैलाली, प्युठान, काठमाडौं र रुपन्देही गरी देशभर कुल ५० जनामा संक्रमण देखिएको भन्दै प्रस्तावमा यथाशीघ्र नियन्त्रण नगरिएमा यसले महामारीको रूप लिई स्वास्थ्य संकट सिर्जना गर्न सक्ने आकस्मिकतालाई अवमूल्यन गर्न नहुने भनिएको छ । हैजाको सम्भावित महामारी नियन्त्रण र द्रुत प्रतिकार्यप्रति संवेदनशील बनी यथाशीघ्र आवश्यक कदम चाल्न २४ साउनमै स्वास्थ्य र खानेपानी मन्त्रालयलाई पत्राचारसमेत गरिएको भन्दै प्रस्तावमा हैजाको संक्रमणदर बढ्दै गर्दा ध्यानाकर्षण प्रस्ताव नै दर्ता गराउनुपरेको उल्लेख छ । 

‘हैजाको संक्रमण देखिएका क्षेत्रहरूमा व्यापक जनचेतना कार्यक्रम गर्ने, पोस्टर तथा पम्पप्लेट टास्ने, निःशुल्क पिउस प्लस वितरण गर्ने, पानी शुद्धीकरणका विधि सिकाउने कार्यक्रम गर्नेजस्ता कार्य तीव्र रूपमा गर्नुपर्छ,’ प्रस्तावमा भनिएको छ, ‘सरकारका विभिन्न तहमा यससँग सम्बन्धित निकाय सबैमा कार्यविभाजन गरी कुशल कार्यसम्पादन गरिनुपर्ने हुँदा सबै निकायबीचको समन्वयका लागि समेत मन्त्रालयहरूले ध्यान दिनुपर्छ ।’ हैजा महामारीका रूपमा फैलिएमा नियन्त्रण गर्न कठिन हुन सक्ने र धेरै व्यक्तिको ज्यानसमेत जान सक्ने हुँदा समयमै व्यापक रूपमा प्रभावकारी कार्यक्रम गरी यसलाई निराकरण गर्नु आवश्यक रहेको औँल्याइएको छ । 

See More On

सुझावित समाचार