आइएमई र जिएमई रेमिट गाभिई आइएमई लिमिटेडका रूपमा एकीकृत कारोबार सुरु भएको छ । बुधबार राजधानीमा आयोजित एक औपचारिक कार्यक्रमबीच दुई कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा सुरक्षित बन्दै जाने र चाँडै सार्वजनिक निष्कासनमा जाने बताए । ‘हामीले आइएमईलाई चाँडै नै नागरिकमाझ लैजाँदै छौँ । जनतालाई नै मालिक बनाउने हाम्रो यो अर्को पहल हो,’ उनले भने ।
‘हामीले आइएमई सुरु गर्दा मासिक २० लाख डलर भित्र्याउने लक्ष्य राखेका थियौँ । अहिले यो २० करोड डलरभन्दा बढी पुगेको छ,’ ढकाले भने । साथै, उनले नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट विप्रेषण भित्र्याउन आवश्यक रहेको बताए । विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट मात्रै नेपालमा पैसा पठाउन आग्रह गर्दै उहाँले सजिलो तरिकाले रेमिट्यान्स आप्रवाहका लागि राष्ट्र बैंकले नीतिगत सहजता
गर्ने बताए ।
एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको छ । रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ ।