कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले यस वर्ष किसानले विगतजस्तो रासायनिक मलको समस्या भोग्नुनपरेको बताएका छन् । उनले सोमबार कृषि मन्त्रालयका पूर्वसचिवसँग छलफल गर्दै यस्तो दाबी गरेका छन् । उनले भने, ‘यस वर्ष किसानले विगतमा जस्तो मलको समस्या भोग्नुपरेको छैन । म मलको दीर्घकालीन समस्या समाधानतर्फ लागेको छु ।’
किसानले दुधको भुक्तानीमा समस्या भोग्नुपरेको विषय गम्भीर रूपमा लिएको बताए । उनले कृषि क्षेत्रमा रहेका समस्या समाधानका लागि कृषि ऐनलाई समयानुकूल परिमार्जन गर्ने र कृषि विधेयकलाई चाँडै टुंगोमा पुर्याउन लागेको पनि बताए ।
छलफलमा पूर्वसचिवहरूले नयाँ पुस्ताअनुकूल कृषिमा रूपान्तरण आवश्यक भएको उल्लेख गरे । कृषिमा उपलब्ध अनुदानको मूल्यांकन आवश्यक भएको, तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको ,बाँझो रहेका जग्गामा उब्जनी गराउने उपाय खोजिनुपर्ने, कृषिमा विकास साझेदारलाई परिचालन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।