बेलहिया आइसिपी ५० प्रतिशत सम्पन्न

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

भारु १ अर्ब ६१ करोड ७५ लाख लागत दैनिक ८ सय ५० वटासम्म मालवाहक सवारी चेकजाँच गर्ने क्षमता

भारतीय सीमावर्ती नाका बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माणको काम ५० प्रतिशत सकिएको छ ।

भारतीय निर्माण कम्पनी राइट्सका आयोजना प्रमुख नीतिन श्रीवास्तवका अनुसार निर्माण कार्य निरन्तर अगाडि बढेकाले १५ महिनामा आधा काम सकिएको हो । दुई वर्षमा निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्ने गरी भारतले १२ जेठ, ०८० मा काम थालेको थियो । हालसम्म १२ वटा भवनको ५० प्रतिशत निर्माण सकिएको श्रीवास्तवले जानकारी दिए । त्यस्तै, पार्किङ यार्डतर्फ भने ८० प्रतिशत प्रगति भइसकेको छ ।

भारु १ अर्ब ६१ करोड ७५ लाखमा निर्माण भइरहेको आइसिपीमा एकैपटक ६ सय ५२ ट्रक आयात र २ सय ७० ट्रक निर्यात गर्न सक्ने कार्गो पार्किङस्थल निर्माण भइरहेको छ । आइसिपी निर्माणपछि दैनिक ८ सय ५० वटासम्म मालवाहक सवारी सहजै आवतजावत गर्न सक्नेछन् ।

कुल ३५.११ हेक्टर क्षेत्रफलमध्ये २२.५४ हेक्टर क्षेत्रफल आइसिपीले ओगटेको छ । जसमा सीमासँग सम्बन्धित सबै भौतिक पूर्वाधार निर्माण गरिँदै छ । भन्सारका लागि प्रशासनिक भवन, अध्यागमन भवन, सीमा सुरक्षा भवन, क्वारिन्टिन भवन, यात्रु तथा मालवाहक सवारी पार्किङ, आयात निर्यात क्षेत्रलगायत रहनेछन् ।

आइसिपी निर्माणसँगै सीमामा भोग्दै आइरहेको सवारी जाम हट्नुका साथै सवारीको इन्धनमा बचत र सीमाक्षेत्र शान्त हुने अन्नपूर्ण टर्मिनल्स प्रालि, भैरहवाका सञ्चालक रवि पारिखले बताए ।

नेपाल भारत दुवै देशतर्फ एकैपटक आइसिपी निर्माणको काम गर्ने लक्ष्य रहे पनि जग्गा अधिग्रहणमा ढिलाइ हुँदा भारततर्फको काममा केही ढिलाइ भएको थियो । हाल दुवैतर्फ काम भइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जनाए । 

राइट्स कम्पनीले नेपालगन्ज, वीरगन्ज र विराटनगर आइसिपीको निर्माण सम्पन्न गरिसकेको छ । पूर्वाधार सम्पन्न भएपछि आइसिपीमा लाग्ने अन्य आवश्यक मेसिन जडान, खानेपानी, विद्युत् व्यवस्थापन भने नेपालले गर्नुपर्ने सर्त छ । 

See More On

सुझावित समाचार