काठमाडौंका नदी तटीय क्षेत्रमा साँझसम्म बाढीको जोखिम, नदीकिनारको सडकबाट नहिँड्न अनुरोध

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

सोमबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी, खोलामा बाढी आएको छ। बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुमा बाढी आउँदा तटीय क्षेत्रका बस्तीमा पानी पस्न थालेको हो।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुमा जलसतह सतर्कता तहमाथि छ। बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको हो। 

बहाव अझै बढ्दो क्रममा रहेकाले उपत्यकाका नदी तटीय क्षेत्रमा साँझसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै नदीकिनारको सडकबाट यात्रा नगर्न पनि महाशाखाले अनुरोध गरेको छ। 

बागमतीको बहावले काठमाडौं महानगरपालिका– १४, बल्खु टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म पानी पुगेको छ। कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको काठमाडौं महानगरले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार रातिदेखि हालसम्म काठमाडौंमा भारी वर्षा भएको छ। ललितपुरको गोदावरीमा १३० मिलिमिटर वर्षा भएको छ।

सुझावित समाचार