करदाता सेवा कार्यालय सल्यानले गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले गएको आर्थिक वर्ष ०८०/८१ मा ४७ करोड ६९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । ६२ करोड ७९ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा कम ७६ प्रतिशत मात्रै राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । लक्ष्यभन्दा झन्डै १६ करोड अर्थात् २४ प्रतिशत राजस्व कम उठेको कार्यालयले जनाएको छ ।
कर अधिकृत चिरञ्जीवी खड्काले विकट भूगोल, कर सचेतनाको कमी, मिसम्याचमा पर्ने डरलगायतका कारण यो वर्ष लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको बताए। गत वर्ष तीन हजार १८७ जनाको व्यक्तिगत स्थायी लेखा नम्बर, एक हजार २२१ व्यावसायिक स्थायी लेखा नम्बर जारी गरिएको छ । यो अवधिमा एक हजार २१० वटा अन्तःशुल्क इजाजत जारी तथा नवीकरण गरिएको खड्काको भनाइ छ।
समय–समय गरिएको बजार अनुगमनका क्रममा ऐन–नियमको उल्लंघन गर्नेलाई जरिवानामार्फत एक लाख ७६ हजार रुपैयाँ संकलन भएको छ । यो अवधिमा सबैखाले केही फर्म खारेजी भएका छन् । व्यवसायहरूको कारोबार नभएका, फर्मका सञ्चालक विदेश गएका तथा मृत्यु भएका कारण केही फर्म खारेजीमा परेको कर अधिकृत खड्काले जानकारी दिए ।
यस कार्यालयले गएको आर्थिक वर्ष ०७९/८० मा ५० करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।