सहाराविहीन तीन दलित बालबालिकालाई प्रहरीले उद्धार गरेपछि...

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

‘एउटै रङका च्यातिएका लुगा, भोको पेट !  टिठलाग्दा तीन अनुहार !’ यी तीन अनुहारको बाध्यता बुझ्दा जोकोहीको मन चसक्क चस्कन्छ । बुबाआमाको सहाराविहीन बनेका यी तीन अनुहारको पेटमा धेरै छाक अन्नको माडसमेत पसेन भने, कति रात त उनीहरू नुसती नै बिहान हुन्थ्यो !

पठनपाठनको कुरा त एकादेशको कथाजस्तै भइसकेको अवस्थाका रावाबेँसी गाउँपालिका– २ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले उदारता देखाएको छ । डाँडागाउँका स्थानीय टेकबहादुर नेपालीका दश वर्षीया छोरी मनकुमारी नेपाली, नौ वर्षीया छोरी भूमिका नेपाली र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले घरैमा पुगेर उद्धार गरेको हो । 

उद्धार गरिएका सहाराविहीन तीनैजना बालबालिकालाई संरक्षणका लागि विराटनगरस्थित बालसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । ‘टेकबहादुर यही साउन ६ गतेदेखि जबर्जस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । उनकी २२ वर्षीया श्रीमती निर्मला नेपालीको ०८० फागुन २२ गते निधन भएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘घरमा बुबाआमा दुवै नभएपछि सहाराविहीन बनेका तीन बालबालिकाको उद्धार गरिएको हो । उनीहरू तीनैजनाको पालनपोषण तथा पठनपाठनका लागि विराटनगरस्थित बालसेवा आश्रम पठाइएको छ ।’

कमजोर आर्थिक अवस्थाका परिवारमा जन्मिएका तीन बालबालिकाको लालनपालन गर्ने अभिभावक कोही नभएपछि हिजो साउन १५ गते (मंगलबार) उनीहरूलाई घरैबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका तीनैजना बालबालिकाको स्वास्थ्य परीक्षण गरेर संरक्षण, पालनपोषण तथा पठनपाठनका लागि आज (बुधबार) खोटाङ यातायात प्रालिको हलेसी दर्शन नामको बा.३ख २९५८ नम्बरको सार्वजनिक बसको टिकट काटेर दुईजना प्रहरीसहित विराटनगर पठाइएको हो । 

सहाराविहीन बालबालिकाका बुबा टेकबहादुरले सुस्तमनस्थितिकी २२ वर्षीया महिलालाई विवाह गर्ने बहानामा ललाइफकाई आफ्नै घरमा लगेर जबर्जस्ती बलात्कार गरेको आरोपमा महिलाको आफन्तले दिएको जाहेरीको आधारमा प्रहरीले साउन–६ गते पक्राउ गरेको थियो । दैनिकजसो मादक पदार्थ सेवन गरेर बस्ने आमाको ६ महिनाअघि मृत्यु भएपछि बुबा टेकबहादुरले बनीबुतो गरेर पालनपोषण गर्दै आएकामा बुबासमेत बलात्कार आरोपमा पक्राउ परेसँगै तीन बालबालिकाको बिचल्ली भएको हो । 

बुबाआमाको लापरबाहीका कारण दुवैको सहारा गुमाएका तीन बालबालिका ठूलीआमा सुमिना नेपालीकोमा आश्रय लिएर बसिरहेका थिए । कमजोर आर्थिक अवस्थाका सुमिनाको छोराछोरीसमेत अरूको घरमा गोठालो बस्ने गरेकाले उनीहरूको लापनपालनमा समस्या हुने भएपछि उद्धार गरिएको प्रहरीले जनाएको छ ।  

प्रहरीले उद्धार गरेर जिल्ला ल्याएपछि ती बालबालिकालाई दिक्तेल बजारका केही स्थानीय बासिन्दाले लुगा तथा केही आर्थिक सहयोगसमेत उपलब्ध गराएका छन् । खान, लाउन र सुत्नसमेत नपाएका उनीहरू प्रहरी टोलीले उद्धार गरेर सरसफाइ गर्नुका साथै लुगासमेत फेराइदिएपछि फुरुंग देखिएका छन् । 

सहाराविहीन तीन बालबालिकाको उद्धार गरेर प्रहरीले ठूलो समस्या समाधान गरेको स्थानीय फणीन्द्र श्रेष्ठले बताए । प्रहरीले यसअघि दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुईजना सडकमानवको उद्धार गरेको थियो । उद्धार गरिएका उनीहरू अहिले मानव सेवा आश्रम विराटनगरमा सुरक्षित तवरले जीवनयापन गरिरहेका छन् । 

बेसहारा बनेका व्यक्तिको सहज जीवनयापनसँगै खोटाङलाई सडकमानवमुक्त बनाउने अभियानस्वरूप उद्धार गर्ने गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सुरु गरेको यो अभियानलाई जिल्लावासीले सहयोगसँगै प्रशंसा गरेका छन् । 
 

सुझावित समाचार