धनगढी उपमहानगरपालिका–७ मनेहरामा निर्माणअघि अनुमति लिएभन्दा फरक प्रयोजनमा भवन प्रयोग गरेको पाइएपछि उपमहानगरले डोजर चलाएको छ। नक्सा पास गरिएभन्दा फरक हिसाबले भवन बनाइएको र फरक प्रयोजनमा भवन प्रयोग गरेको पाइएकाले भत्काएको उपमहानगरका डिभिजनल इन्जिनियर दिजराज भट्टले बताए।
‘निरीक्षणका क्रममा उपमहानगरबाट नक्सा पास गरेकोभन्दा बढी संरचना बनाएको पाइयो,’ भट्टले भने, ‘अनुमतिविना थप संरचना बनाएकोले भवन भत्काएका हौँ।’ लेट मेइन धनगढी प्रालिले चार कट्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर उक्त साढे दुईतले भवन निर्माण गरेको हो।
छालाको अस्पताल खोल्ने भनिए पनि लेट मेइन धनगढी प्रालिले गत वर्ष साउनमा वडा कार्यालयमा भने उक्त भवनमा सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजनसहित व्यवसाय दर्ता गराएको थियाे।
वडा नं ७ का वडाध्यक्ष मोती रानाले व्यावसायिक प्रयोजन देखाएर भवन निर्माण गरिए पनि फरक प्रयोजनमा काम गरेको पाइएको बताए। फरक प्रयोजनमा काम गरेको पाइएकाले उपमहानगरको निर्देशनानुसार वडाले लेट मेइन प्रालिको व्यवसाय दर्ता खारेज गरेको उनले जानकारी दिए। नेपाल लाइफ वर्ल्ड मिसन नामक संस्थाले पनि वडाबाट गत वैशाखमा सेमिनार, तालिम आदि व्यवसाय सञ्चालन गर्ने भनेर व्यवसाय दर्ता गराएको थियो।
यसअघि अस्पताल बनाउन अनुमति लिएर चर्च बनाएको भन्दै स्थानीयले गुनासो गरेपछि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा अधिकारीको टोलीले गत ८ साउनमा अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारीले छानबिन नहुँदासम्म उक्त भवनबाट भइरहेका गतिविधि सञ्चालन नगर्न निर्देशन दिएका थिए।