उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूको भुक्तानीलगायतका समस्या समाधान गर्न सरकारले गृहकार्य गरिरहेको बताएका छन् । अध्ययन र छलफलपछि छिट्टै यस क्षेत्रको समस्या समाधान गर्ने बताएका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग मंगलबार भएको भेट तथा छलफलमा उपप्रधानमन्त्री सिंहले निर्माण उद्योगको समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग सहरी विकास मन्त्रालयमा भएको भेटमा उनले निर्माण व्यवसायीका लागि काम गर्ने उपयुक्त वातावरण सरकारले तयार गर्ने बताए । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले निर्माण उद्योग शिथिल हुँदा समग्र अर्थतन्त्रमा गम्भीर चाप परेको बताए ।
महासंघ अध्यक्ष सिंहले उपप्रधानमन्त्री अव्यावहारिक ऐन–नियममा सुधार गर्न, निर्माण व्यवसायीको भुक्तानी छिटो दिन तथा सरकारी निकायबीचको समन्वयलाई प्रभावकारी बनाउन आग्रह गरे ।
महासंघ प्रतिनिधिमण्डलले मंगलबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई समेत भेटेर निर्माण उद्योगमा देखिएको भुक्तानीलगायतका समस्याबारे जानकारी गराएको छ । जवाफमा मन्त्री खड्काले सरकार र निर्माण व्यवसायीहरू हातेमालो गरी मुलुकको विकासमा जुट्नुपर्ने धारणा राखेको महासंघले जनाएको छ ।