बिरामीलाई सहज सेवा उपलब्ध गराउन अस्पतालहरूलाई मन्त्रीको निर्देशन

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

अस्पतालका सेवाहरू सेवाग्राहीमैत्री नभएको भन्दै बिरामीलाई सहज रूपमा सेवा लिन सक्ने वातावरण बनाउन स्वास्थ्यमन्त्रीले अस्पतालहरूलाई निर्देशन दिएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा शय्या नपाएर भर्ना हुन नपाउने, शल्यक्रियाका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य बिमाअन्तर्गत औषधि नपाउने, टिकटका लागि घन्टौँ लाइन बस्नुपर्नेजस्ता समस्या तत्काल हटाउन निर्देशन दिएका हुन्। मन्त्री पौडेलले उपत्यकाका अस्पतालका प्रमुखहरूसँग छलफल गरेर अस्पतालहरूको सेवा सुधारका लागि संघीय अस्पताल र प्रतिष्ठानहरूलाई नाैबुँदे निर्देशन दिएका हुन्।

मन्त्री पौडेलले सेवाग्राहीको चाप र उपलब्ध स्रोतसाधनको तारतम्य मिलाई ओपिडी दुई सिफ्टमा सञ्चालन गर्न, विस्तारित अस्पताल सेवा कार्यक्रम सुरु गर्न, बिरामी भर्नाका लागि बेड नपाउने अवस्था हटाउन, पर्याप्त विभाग र चिकित्सक हुँदाहुँदै पनि ओपिडी र शल्यक्रियामा लाग्नुपर्ने लाइन हटाउन, बिमाअन्तर्गतका सबै औषधिहरू अस्पतालकै फार्मेसीमा उपलब्ध गराउन निर्देशन दिएका छन्।

यस्तै, अस्पतालको भिड व्यवस्थापन गर्न सेवा काउन्टर थप गर्न, अनलाइन टिकट काट्न, टोकनअनुसार समय व्यवस्थापन गर्न, विद्युतीय भुक्तानी प्रणाली लागू गर्नसमेत भनिएको छ। यसबाहेक, सामान्य कामको लागि अस्पताल प्रमुखलाई कुर्नुपर्ने अवस्था हटाउन, हरेक सेवाको जानकारीका लागि स्पष्ट नक्सा वा स्वयंसेवक राख्न, शौचालय सफा राख्न, पिउने पानी, गुनासो सुन्ने वा सहायता कक्ष राख्नसमेत मन्त्रीले निर्देशन दिएका हुन्।

सुझावित समाचार