हत्याप्रयास डरलाग्दो भए पनि ऐतिहासिक सन्दर्भ र वर्तमान विभाजनकारी राजनीतिक वातावरण हेर्दा यो अप्रत्याशित भने होइन
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हालैको हत्याप्रयासले महत्वपूर्ण चिन्ता उब्जाएको छ । यसले अमेरिकी राजनीतिमा प्रचलित असभ्य भाष्य र ६ जनवरीको क्यापिटोल दंगाको परिणामलाई झल्काउँछ । हत्या प्रयास डरलाग्दो भए पनि ऐतिहासिक सन्दर्भ र वर्तमान विभाजनकारी राजनीतिक वातावरणलाई हेर्दा यो अप्रत्याशित भने होइन । दुवै पक्षबाट हुने चरमपन्थी अभियान सामान्यीकृत छन् । ट्रम्प र हालका राष्ट्रपतिपुत्र हन्टर बाइडेन संलग्न आपराधिक अभियोगको राजनीतीकरणले स्थितिलाई थप तीव्र बनाइरहेको छ । मतदाताले आफ्नो पक्षलाई समर्थन गर्नुको सट्टा विपक्षी दलका उम्मेदवारलाई मतदान नगर्नुलाई प्राथमिकता दिइरहेका छन् ।
भावनात्मक अपिल प्रयोग गरेर र घटनालाई ‘अस्तित्वको खतरा’ बनाएर राजनीतिक लाभका लागि दुवै पक्षले परिस्थितिको दुरुपयोग गर्ने सम्भावना छ । तर, अहिलेको राजनीतिक माहोल अस्तव्यस्त भए पनि यो अभूतपूर्व भने होइन । अमेरिकी राजनीति ऐतिहासिक रूपमा विवादास्पद एवं रक्तपातपूर्ण युद्धभूमि रहँदै आएको छ ।
राजनीतिक हिंसाको इतिहास : २०औँ शताब्दीको उत्तरार्धमा राष्ट्रपति जोन एफ केनेडीको हत्या गरियो । राष्ट्रपति रोनाल्ड रेगन घाइते भए र राष्ट्रपति जेराल्ड फोर्डलाई निसाना बनाइयो । यसबाहेक दुई प्रमुख उम्मेदवारमाथि आक्रमण भयो । रोबर्ट एफ केनेडीको हत्या गरियो र उम्मेदवार जर्ज वालेस घाइते भए । यसअतिरिक्त धेरै हुनै लागेका हत्या प्रयास रोकिएका थिए । सन् १९६० देखि १९८० को सुरुवातसम्म अमेरिकी राजनीति अविश्वसनीय रूपमा विभाजित र हिंसात्मक थियो । सन् १९७१ र १९७२ मा अमेरिकामा दुई हजार पाँच सयभन्दा बढी राजनीतिक रूपमा उत्प्रेरित बम विस्फोट भएका थिए, अर्थात् प्रतिदिन लगभग पाँच विस्फोट भएका थिए । यी विस्फोट प्रायः भियतनाम युद्धको विरुद्धमा वामपन्थी प्रदर्शनकारीबाट गरिन्थे ।
अमेरिकाको ध्रुवीकरण बढ्दै गएपछि राजनीतिक वातावरण अस्थिर हुँदै गएको छ । सन् २०११ मा प्रतिनिधि ग्याबी गिफर्ड्सलाई ‘सिजोफ्रेनिया’ नामक मानसिक रोग भएका व्यक्तिले गोली हानेका थिए । सन् २०१७ मा बर्नी स्यान्डर्स समर्थकले रिपब्लिकन जनप्रतिनिधिमाथि आक्रमण गरेका थिए, जहाँ स्टिभ स्केलिसको झन्डै ज्यान गएको थियो । यसबाहेक सन् २०२० मा ट्रम्पले उक्साएको क्यापिटोल विद्रोहले धेरैलाई ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा रहेको भनेर हेर्न प्रेरित गरेको थियो ।
डेमोक्य्राटका लागि अवसर : हत्या प्रयासले अस्थायी रूपमा बाइडेनको जुनको अन्त्यतिर बहस प्रदर्शनबाट ध्यान विकर्षण गर्नेछ । तर, यसले उनको उमेर र राष्ट्रपति पदका लागि स्वस्थ छन् वा छैनन् भनेर चलिरहेको चिन्ताको समाधान गर्दैन । सर्वेक्षणले बाइडेनले हत्या प्रयासको घटना हुनुअघि नै ट्रम्पसँग हार्न सक्ने सम्भावना थियो र गोलीबारीले ट्रम्पका समर्थकलाई थप ऊर्जा दिने र उनको अपिल विस्तार गर्ने अपेक्षा गरिएको छ ।
धेरै डेमोक्य्राट उपराष्ट्रपति कमला ह्यारिसजस्ता फरक उम्मेदवारले ट्रम्पविरुद्ध राम्रो मौका पाउनेछन् भन्ने विश्वास गर्छन् । गोलीबारीले डेमोक्य्राटलाई आफ्नो अभियान पुनः सुरु गर्न र राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अवसर प्रदान गर्छ । डेमोक्य्राटले ट्रम्पबारे आफ्नो भाष्य परिवर्तन गर्न र आफ्ना नीति एजेन्डामा ध्यान केन्द्रित गर्न आवश्यक छ । मुख्य चुनौती भनेको यो सन्देश दिनका लागि नयाँ उम्मेदवारलाई छिट्टै पहिचान गर्नु हो, जुन अमेरिकी राजनीतिमा एउटा महत्वपूर्ण प्रश्न बनेको छ ।
रिपब्लिकनका चुनौती : ट्रम्पको मृत्युको नजिकको अनुभवले उनको चुनावी अभियानलाई पहिले नै डेमोक्य्राट र संस्थापनको सिकारका रूपमा चित्रण गरिएको अवस्थामा नयाँ ऊर्जा दिनेछ । रक्ताम्य ट्रम्पले मुठी उचालेका तस्बिर चुनावी अभियानका विज्ञापनमा खर्च हुने करोडौँ डलरभन्दा धेरै मूल्यवान् छन् । यद्यपि रिपब्लिकन र ट्रम्पका उग्र–समर्थकले अब फरक चुनौती सामना गर्नेछन् । गोलीबारीलाई आफूअनुकूल प्रयोग गर्दा बन्दुकधारी राजनीतिक रूपमा प्रेरित थियो वा थिएन भन्नेबारे प्रतिरोध गर्न निकै गाह्रो हुनेछ ।
केही ट्रम्प समर्थकले यो घटनाका लागि डेमोक्य्राटमाथि दोष लगाएका छन् । यस मामिलामा रिपब्लिकन सिनेटर जेडी भान्स अर्थात् ट्रम्पका साथ उपराष्ट्रपतिको प्रतिस्पर्धामा संलग्न उम्मेदवार अग्रपंक्तिमा छन् । सदनका सभामुख माइक जोनसन र अरूले पनि बाइडेनले गोली प्रहारभन्दा पहिले ट्रम्पलाई ‘बुल्स आई’ (तारो बनाउँछु) भन्ने अभिव्यक्तिलाई लिएर आलोचना गरिरहेका छन् । यस ढंगले गोली प्रहारलाई राजनीतीकरण गर्दा नोभेम्बरमा ट्रम्प समर्थकलाई मत बढाउनमा सफलता मिल्न सक्छ । तर, यसले दक्षिणपन्थतर्फका मानिसबाट थप आक्रोश र अराजक भाष्य पनि निम्त्याउन सक्छ । यो त्रासदीलाई डेमोक्य्राट वा बाइडेनमाथिको आक्रमण बनाउन खोज्दा मतदाताले ट्रम्पको विभाजनकारी स्वभावबारे बुझ्न सक्छन् । बरु ट्रम्पसँग वास्तविक नेतृत्व प्रदर्शन गर्ने र अनिर्णीत एवं स्वतन्त्र मतदातालाई अपिल गर्ने मौका छ । आफ्नो आधार बलियो भएपछि उनी आफ्नो बयानबाजीलाई कम गर्दै उदारवादी रिपब्लिकन र असन्तुष्ट डेमोक्य्राटमाझ पुग्नेछन् ।
सन् १९८१ मा एक हत्याराको गोलीका कारण झन्डै ज्यान गुमाएका रेगनले कम्तीमा आफ्नो नीति एजेन्डा नभए पनि बोली फेरेका थिए । त्यसो भए रिपब्लिकन र डेमोक्य्राटले ट्रम्पमाथिको हत्या प्रयासलाई थप सकारात्मक सन्देश दिनका लागि प्रयोग गर्न सक्छन् त ? बिल्कुल सक्छन् । अमेरिकी मतदाता, अमेरिकाका साथी र विश्वभरका साझेदारले यसमा कुनै सन्देह राख्दैनन् । गोलीबारीको भोलिपल्ट बाइडेनले ट्रम्पलाई फोन गरेर उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका थिए र दुःखद घटनाबारे छलफल गरेका थिए । द्विपक्षीयता र सभ्यताको यो सानो संकेत आगामी दिनमा सबैका लागि उदाहरणीय बन्न सक्छ ।
(मुनसन युनाइटेड स्टेट्स स्टडिज सेन्टर, सिड्नी विश्वविद्यालयका गैरआवासीय शोधकर्ता हुन्)
द कन्भर्सेसनबाट