दूषित पानीले निम्त्याउँछ यस्ता रोग

बिहिबार, २८ असार, २०८१
डिजिटल संस्करण

कतिपय मानिस खोला, धारा, इनारबाट ल्याइएको पानी सोझै पिइरहेका हुन्छन् । तर, यसरी नउमाली, पीयूष नहाली वा निर्मलीकरण नगरी प्रयोग गरिएको पानीमा ब्याक्टेरिया, भाइरस र परजीवी हुन सक्छन् । जसले मानिसलाई संक्रमित बनाउँछ । दूषित पानी खाँदा यसमा रहेका खतरनाक भाइरस र ब्याक्टेरियाले विभिन्न रोग फैलाउने सम्भावना रहन्छ । झाडापखाला, टाइफाइड, हेपाटाइटिस ए/ई लगायतका लक्षण बिरामीमा देखिन्छन् ।

झाडापखाला
दूषित पानी वा खानाले निम्तने समस्यामध्ये मुख्य हो । यसले शरीरमा पानीको कमी गराउँछ । बारम्बार दिसा लागिराख्ने, बान्ता हुनेलगायत समस्या देखिन्छ । दिनमा चार–पाँचपटक वा त्यसभन्दा बढी पातलो दिसा भएमा झाडापखाला भएको हुन सक्छ । झाडापखालाका कारण शरीरबाट पानी, खनिज तत्व तथा पोषक तत्व खेर जान्छ । समयमै उपचार नपाउँदा ज्यान पनि जान सक्छ । यो रोग महामारीकै रूपमा फैलिएर समुदायलाई असर पुर्याउने सम्भावना पनि उत्तिकै छ ।

झाडापखाला लागेको अवस्थामा जलविनियोजन हुन नदिन पुनर्जलीय झोल (जीवनजल वा नुन–चिनी–पानी), झोल तरकारी, गेडागुडीलगायत खानुपर्छ । संक्रमितको मलमूत्र पानी वा खानामा मिसिएर, फोहोर तथा सडेगलेका खानेकुरा खाँदा, झिँगाको माध्यमबाट, फोहोर पानी खाँदा वा प्रयोग गर्दा, फोहोर हात तथा भाँडाकुँडाबाट झाडापखाला फैलन सक्ने भएकाले सतर्क रहनुपर्छ । 

हेपाटाइटिस ए
दूषित पानीले संक्रमित गराएर समस्याका रूपमा हेपाटाइटिस ‘ए’ देखिन सक्छ । हेपाटाइटिस ‘ए’ भएको शंका लाग्नासाथ उपचार थाल्नुपर्छ । समयमै उपचार नगर्दा यसले अन्य जटिलता निम्त्याउन सक्छ । अचानक ज्वरो आउने, छाला पहेँलो हुने, थकान, शरीर दुख्ने, पिसाब पहेँलो हुने, पेट दुख्ने, बान्ता, अरुचिलगायत लक्षण देखिन सक्छन् । 

टाइफाइड
दूषित पानीले संक्रमित गराएर लक्षणका रूपमा टाइफाइड देखिन सक्छ । टाइफाइडको शंका लागेमा नजिकको स्वास्थ्य संस्था वा चिकित्सकसँग परामर्श गरेर उपचार थालिहाल्नुपर्छ । अन्यथा यसले जटिलता निम्त्याउन सक्छ । उच्च ज्वरो, थकान महसुस हुने, मांसपेशी दुख्ने, अत्यधिक पसिना आउने, भोक लाग्ने, लगातार तौल घट्नेलगायत लक्षण देखिन्छन् । सरसफाइमा ध्यान दिने, स्वच्छ पानी र खाना खानुपर्छ । 

निर्मलीकरण गरेर मात्रै प्रयोग गरौँ 
निरन्तर वर्षा भइरहेको छ । वर्षाका समय खानेपानीको मुहान प्रदूषित हुने, ढलको पाइप फुटेर खानेपानीको पाइपमा मिसिनेलगायत समस्या देखिन सक्छ । रोगका कीटाणुहरू पानीमा मिसिएका हुन सक्छन् ।दूषित पानीले विभिन्न संक्रमणहरू फैलाउन सक्छ । यसले महामारीकै रूप पनि लिन सक्ने जोखिम छ । यसबाट निम्तने संक्रमणहरूको लक्षणमा ज्वरो, झाडापखालालगायत पर्छन् । कतिपयमा हेपाटाइटिस ए÷ई पनि देखिन सक्छ ।

तसर्थ उमालिएको, पीयूष हालेको वा अन्य विधिबाट निर्मलीकरण गरिएको पानी मात्रै पिउनुपर्छ । धाराबाट ल्याइएको पानी सोझै प्रयोग गर्नुहुँदैन । जारको पानी पनि निर्मलीकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । बाढीपीडित क्षेत्रमा पनि विभिन्न समस्या देखिएका हुन्छन् । यहाँका जनता आफैँ पीडित भएकाले धेरै कुरामा ध्यान दिन सकिरहेका हुँदैनन् । यस क्षेत्रमा जनचेतना फैलाउने तथा दाताहरूले पानी वितरण गर्दा निर्मलीकरण गरेर मात्रै गर्ने गर्नुपर्छ । 

सरसफाइमा ध्यान 

  • कहिलेकाहीँ मानिसले फोहोर पानीमै फलफूल वा तरकारी पखालेर खान्छन् र रोग फैलन सक्छ । 
  • खाना खानुअघि, चर्पी गएर आएपछि साबुनपानीले हात धुनुपर्छ ।
  • घरवरपरको वातावरण सधैँ सफा राख्नुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । 
  • फोहोर विसर्जन राम्रोसँग गर्नुपर्छ । शौचालय सधैँ सफा राख्नुपर्छ । 

सुझावित समाचार