सल्यानका किसानले गोलभेँडामा वर्षकै उच्च मूल्य पाए

मंगलबार, २६ असार, २०८१
डिजिटल संस्करण

सल्यानका किसानले गोलभेँडा यस वर्षकै उच्च मूल्यमा बिक्री गरेका छन्। गोलभेँडाले उचित मूल्य पाएपछि कृषक उत्साहित भएका छन्। पछिल्लो केही दिनयता गोलभेँडा थोकमा ९५ देखि एक सय रुपैयाँसम्म बिक्री हुँदै आइरहेको छ । जसले गर्दा कृषकले यो वर्षको अहिलेसम्मकै उच्च मूल्यमा बिक्री गर्न पाएका हुन्।

मंगलबार लागेको कृषि हाटबजारमा कृषकले थोकमा ९५ देखि एक सय रुपैयाँसम्मले गोलभेँडा बिक्री गरेका कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए। उनका अनुसार अविरल वर्षा, तराई जलमग्न हुनु र व्यापारिक प्रतिस्पर्धा हुँदा कृषकले कृषिजन्य वस्तुको राम्रो मूल्य पाएका हुन्। 

‘हामीले यस वर्ष धेरै व्यापारिक केन्द्रमा पुगेर अन्तर्क्रिया पनि गर्याैँ, जसका कारण नयाँ व्यापारी आउनुभयो। व्यापारीबीच स्वच्छ प्रतिस्पर्धा हुँदा किसानले राम्रो मूल्य पाएका हुन्,’ अध्यक्ष शर्माले भने। वर्षातको समय नसकिएकाले अझै गोलभेँडाको मूल्य बढ्ने उनको भनाइ छ। तराईका जिल्ला डुबानमा परेकाले पनि मागअनुसार आपूर्ति नबढेको उनले बताए।

आजको हाटबजारमा अन्य कृषिजन्य वस्तुले पनि राम्रो मूल्य पाएका छन्। किसानले बन्दागोभी ३५, फूलगोभी ६५, भेडेखुर्सानी ५०, मसिना खुसार्नी १७५, अकबरे खुसार्नी २५० रुपैयाँ किलोमा बिक्री गरेका छन्। यस्तै, सिमी १३५, काँक्रो लोकल ४५, मूला ४०, माछे खुर्सानी ४०, बोडी १०० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका छन्।
 

सुझावित समाचार