उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष

सोमबारको कार्यसमिति बैठकबाट विधान सर्वसम्मत पारित, अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट, दुईजना वरिष्ठ उपाध्यक्ष रहने

मंगलबार, २५ असार, २०८१
डिजिटल संस्करण

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । सोमबार बसेको महासंघको कार्यसमिति बैठकले संशोधित विधान सर्वसम्मत पारित गरेसँगै महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो । 

अहिले महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । महासंघमा अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुँदै आइरहेकामा ०७३ मा विधान संशोधन गरेर वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएपछि भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल अध्यक्ष भइसकेका छन् । 

संशोधित नयाँ विधानले वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलाई पनि स्वतः अध्यक्ष बन्नका लागि बाधक नबन्ने महासंघले जनाएको छ । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछि अर्काे एक कार्यकालपछि लागू हुने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

यसअघि पनि यसैबमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरू गठन गरी काम गरिए तापनि सहमति हुन नसक्दा वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुने गरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले बताए । उनले निर्वाचनकै समयमा विधान संशोधन गरेर महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने प्रतिबद्धता जनाएका थिए । यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रूपमा अध्यक्षमा लड्न सहयोग पुग्ने ढकालको विश्वास छ । 

संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष दुईजना रहने व्यवस्था गरिएको छ । यस्तै, हाल एक महिला उपाध्यक्ष रहेकोमा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको बताइएको छ । संशोधित उक्त विधानलाई आगामी मंसिरभित्र विशेष साधारणसभाले पारित गर्ने सचिवालयले जनाएको छ ।

सुझावित समाचार