बाराको सिम्रौनगढ नगरपालिका– ६ अमरपुरका बिज भण्डार सञ्चालक राजकिशोर सिंहमाथि भएको आक्रमण र लुटपाट प्रयासको विरोधमा बारा उद्योग वाणिज्य संघ सिम्रौनगढ शाखाले जिल्ला प्रहरी कार्यालय बारामा बुधबार ज्ञापनपत्र बुझाएको छ ।
सिम्रौनगढ अमरपुरनिवासी किसान बिज भण्डारका मालिक सिंहको ज्यान मार्ने नियतले हमला भएको भन्दै संघका सिम्रौनगढ अध्यक्ष लालबाबु कुशवाहले दोषी पत्ता लगाएर कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई ज्ञापनपत्र बुझाएका हुन् ।
घटनाको भर्त्सना गर्दै निकालिएको विज्ञप्तिमा घटनाको छानबिन गरी अपराधीलाई तत्काल पक्राउ र कडाभन्दा कडा कारबाहीको माग पनि गरिएको छ।
कलैयाबाट मोटरसाइकलमा घरतर्फ फर्किने क्रममा अज्ञात समुहले सोमबार साँझ बाराको महागढीमाई नगरपालिकास्थित गण्डक नहरको तेलकुवा चाेकदेखि पूर्व हर्दिया पसुरामपुर सडकनजिक नचिनेका मानिसले मोटरसाइकल रोकेर पेस्तोल ताकेर कुटपिट गर्दै सिंहसँग रहेको १० हजार दुई सय ५० रुपैयाँ लुटेर भागेका थिए ।
कलैयाबाट सिम्रौनगढ फर्कने क्रममा व्यापारी सिंहलाई दुई मोटरसाइकलमा आएका चारजना नकाबधारीले एकाएक बाटो छोकेर रोकेका थिए । उनीहरू कलैयाको हनुमान मन्दिरबाट नै सिंहलाई पछ्याउँदै आएको बताइएको छ ।
नकबधारीहरूले घर यकिन गर्न सिंहको घर सिम्रौनगढ हो कि होइन भनेर प्रश्न गरेका थिए, तर सिंहले आफ्नो घर रौतहटको राजपुर बताएपछि उनीहरू अलमलिएकाको लुटपाट गरेर भागेका हुन् ।