ग्रेड वृद्धिको तयारी कक्षा चलाउन उपमहानगरले अनुदान दिने

बिहिबार, २१ असार, २०८१
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकाले एसइईको ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीलाई लक्षित गरेर तयारी कक्षा सञ्चालन गर्नका लागि विद्यालयलाई अनुदान दिने भएको छ । गणित र विज्ञान विषयको तयारी कक्षा सञ्चालन गर्न विद्यालयलाई अनुदान दिने निर्णय उपमहानगरले गरेको हो । 

तयारी कक्षा चलाउन धनगढीका २६ वटा सामुदायिक विद्यालयलाई अनुदान दिने निर्णय भएको प्रमुख प्रशासकीय प्रमुख नरेन्द्रबहादुर खातीले जानकारी दिए । उनले गणित र विज्ञान विषयमा नन् ग्रेड आएका विद्यार्थीलाई लक्षित गरेर विद्यालयमा तयारी कक्षा सञ्चालन हुने बताए । विद्यालयलाई विद्यार्थी संख्या र पिरियडको आधारमा अनुदान उपलब्ध गराइने उपमहानगरले जनाएको छ ।

ग्रेड वृद्धि दिने विद्यार्थीलाई परीक्षामा ग्रेड बढाउन सहज होस् भनेर हरेक विद्यालयले शिक्षकलाई प्रोत्साहनस्वरूप भत्ता दिन मिल्ने हिसाबले अनुदान निकासा गरिने खातीले बताए । गणित र विज्ञान विषय पढ्न चाहने विद्यार्थीको संख्या पठाउन विद्यालयलाई सहज होस् भनेर उपमहानगरपालिकाले क्युआर कोडसमेत सार्वजनिक गरेको छ । २३ साउनदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुनेछ । 
 

सुझावित समाचार