ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन सञ्चालनमा

देशभित्र ४०० केभी प्रसारणलाइनबाट पहिलोपल्ट विद्युत् प्रवाह सुरु

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण गर्न र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारणलाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारणलाइन चार्ज गरिएको हो । 

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारणलाइनबाट ४०० केभीमा विद्युत् आयात–निर्यात हुँदै आएको थियो । अब देशभित्र पनि ४०० केभी प्रसारणलाइनबाट विद्युत् प्रवाह सुरु गरिएको हो । प्रसारण लाइनले करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै मुख्य रूपमा कोशी प्रदेशका तराईका जिल्लाहरूमा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । 

प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले बताए । अहिले दुई देशबीचको विद्युत् आयात–निर्यात परिमाण ८०० मेगावाट मात्र छ । उनले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युतलाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर–इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिने बताए ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११ स्थित थाना भर्याङस्थित हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म दुई सय ८८ किलोमिटर प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारणलाइनलाई हेटौँडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ । 

सुझावित समाचार