घर सजाउनका लागि धेरै खर्च गर्नुपर्छ भन्ने छैन । कम खर्चमै पनि घरलाई चिटिक्क बनाउन सकिन्छ ।
रंगको चयन
तपाईंले सही रङ छनोट गर्नुभयो भने तपाईंको सानो घर पनि आकर्षक र चिटिक्क देखिन्छ । कोठाहरू पनि फराकिला देखिन्छन् । ठूलो इन्टेरियर डिजाइन भएको घरभन्दा कम देखिँदैन । अहिले बजारमा विभिन्न डिजाइन र रङका भित्तामा टाँस्ने कम मूल्यका वालपेपरहरू पनि पाइन्छन् । वालपेपरले तपाईंको घरलाई फरक लुक्स दिन सक्छ ।
फर्निचर पुनः प्रयोग
घरमा प्रयोग भएका फर्निचर पुरानो भएको महसुस भयो भने त्यसलाई फ्याँक्ने काम नगर्नुहोस् । पुरानो टेबल, कुर्सी, सोफालगायतलाई मर्मत गरेर फेरि आकर्षक डिजाइन र लुक्स दिन सकिन्छ । सोफाको कपडा परिवर्तन गर्न सकिन्छ, जसले सुन्दरता बढाउँछ । पुरानो बेडको सोफालाई नयाँ बनाउन सकिन्छ । पुरानो कुर्सीलाई रङ लगाएर नयाँ देखाउन सकिन्छ । सिर्जनात्मक रूपमा घरलाई सजावट गर्न सकिन्छ ।
फेन्सी लाइट
घरमा लाइटको छनोटमा ध्यान पुर्याउनुपर्छ । बजारमा विभिन्न किसिमका बत्ती पाइन्छन् । घरको बैठककोठामा स्ट्रिङ लाइट प्रयोग गर्न सकिन्छ । यसबाहेक बेडरुममा पनि प्रयोग गर्न सक्नुहुन्छ । भित्तामा राख्नका लागि कम बजेटमा फेन्सी लाइटहरू किन्न सक्नुहुन्छ । यस्ता बत्ती जडान गर्दा घरको वातावरण पनि राम्रो देखिन्छ ।