बुटवल उपमहानगरको बजेट दुई अर्ब ९९ करोड

सोमबार, १० असार, २०८१
डिजिटल संस्करण

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई  अर्ब ९९ करोड २२ लाखबराबरको बजेट ल्याएको छ ।आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभाको १५औँ अधिवेशनको तेस्राे बैठकमा  चालूतर्फ ४८.६५ प्रतिशत र पुँजीगततर्फ ५१.३५ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पेस गरेकी हुन् ।

बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक स्राेतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई बजेट छुट्याइएको बताइन् ।

बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ । वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी पर्याप्त बजेट विनियोजन गरेको अर्यालले बताइन् ।यस्तै, बुटवलले निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत बुटवल ११ मा सय बेडको अस्पताल स्थापनाका लागि पाँच करोड रुपैयाँ छुट्याएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न एक करोड रुपैयाँ, नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधासम्पन्न बनाउन एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बताइन् ।

बुटवलले बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने, ज्येष्ठ नागरिक लक्षित बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ ।

शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसंख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यका साथ नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम ल्याएको उपप्रमुख अर्यालले बताइन् । बुटवलले शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाँच करोड छुट्याएको छ ।

‘छोरी पढाऔँ, समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवलले बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरूलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले २५ लाख रुपैयाँ छुट्याएको छ । बुटवलले विद्यार्थीसँग नगर प्रमुख, बालबालिकासँग उपप्रमुख र एक विद्यार्थी एक बैंक खाता कार्यक्रम र विद्यालय खाजा कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई खाजा खुवाउने विद्यालयमा  १० रुपैयाँ थप गरी २५ रुपैयाँ गराउनेजस्ता नयाँ कार्यक्रम बजेटमा समावेश गरेको छ ।

यस्तै, यस वर्ष लुम्बिनी बस टर्मिनलमा विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाइफाई, सुरक्षित विश्रामस्थल निर्माण गर्न एक करोड र उज्यालो बुटवल कार्यक्रमअन्तर्गत बुटवल चिडियाखोलादेखि योगीकुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि चार करोड रुपैयाँ बजेटमा राखिएको छ । मुख्य राजमार्ग, भित्री सडकहरू सौन्दर्यीकरण, ट्राफिक लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्यक्रमले निरन्तरता पाएका छन् ।

बजेटमार्फत जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रिष्मकालीन दरबार, जितगढी युद्ध संग्रहालयजस्ता महत्त्वपूर्ण स्थानलाई नगरको गौरव सम्पदाका रूपमा प्रवर्द्धन गर्ने भनिएको छ । जितगढी किल्लानजिकै देवभूमि तिनाउ आरती केन्द्र स्थापनाका लागि तीन करोड बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन् ।

बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष घोषणा गरी पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ । बुटवलदेखि नुवाकोट जाने पैदलमार्ग निर्माणका लागि एक करोड, पैदलमार्गमा शिव मूर्ति निर्माणका लागि एक करोड रुपैयाँ र हिलपार्कमा बुद्धमूर्ति निर्माणका लागि एक करोड रुपैयाँ बजेटमा समावेश छन् ।

बुटवलदेखि लुम्बिनी जोड्ने, मुक्तिनाथ, बाँके बर्दिया, आसपासका पर्यटकीय स्थलहरू जोड्ने र बुटवल–चितवन–पोखरा त्रिकोण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने, रात्रिकालीन बजार सञ्चालन गर्ने, रात्रिकालीन बजार सञ्चालनमा विपन्न वर्गलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा देखिने कार्यक्रमका रूपमा रहेका छन् ।

बुटवललाई रोजगार र स्वरोजगारका रूपमा समेत स्थापित गर्न गृहिणी महिलालाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि तीन करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न एक करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन्।  

बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका बासिन्दालाई लाभ हुने गरी तिनाउ गाउँपालिकामार्फत विकासका कार्य गर्न बुटवलले दुई करोड छुट्याएको छ ।मुख्य चोक, चौराहामा विश्राम चौतारी, फल्चा, परम्परागत प्रतीक्षालय निर्माणका लागि दुई करोड, छाडा चौपाया व्यवस्थापनका लागि अस्थायी संरचना, विश्रामस्थल, ध्यान केन्द्र, योग केन्द्र निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ छुट्याएको बजेटमा उल्लेख छ । यस्तै, वडाहरूको समग्र विकासका लागि १६ करोड ५० लाख रुपैयाँ तथा बुटवल वडा नम्बर १४ देखि १९ का ६ वटा वडालाई एक–एक करोड विशेष विकास कार्यक्रममार्फत विकासका लागि खर्च गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ।

बजेटमा सञ्चार क्षेत्र सबलीकरण गर्ने, सञ्चारग्राम स्थापना गर्ने, किसानलाई पाडी वितरणमा अनुदान दिने, परम्परागत सीप आरन खरिद तथा सञ्चालनमा अनुदान दिने कार्यक्रम समावेश छन् । खेलकुदमा बुटवल १६ डहरगाउँमा क्रिकेट मैदान निर्माण गर्न एक करोड र बुटवल १३ को जवई खेलमैदान जाने सडक निर्माण गर्न एक करोड छुट्याएको बुटवलले आगामी आर्थिक वर्षमा मेयर कप फुटबल, उपमेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ ।

यस्तै, खेलाडी उत्पादनका लागि खेलाडीहरूलाई छात्रवृत्ति, प्रशिक्षण खर्च तथा पारिश्रमिक दिने र नगरको टिम निर्माण गर्ने कार्यक्रम बजेटमा छ ।  बुटवल उपमहानगरपालिकाको संरक्षकत्व रहेको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि ३५ लाख रुपैयाँ छुट्याएको छ ।

यस्तै, बजेटमा महिला, बालबालिका, सीमान्तकृत समुदाय र अल्पसंख्यक समुदायलाई मूलप्रवाहमा ल्याउन क्षेत्रगत, विधागत र समुदायगत कार्यक्रमहरू समावेश रहेका छन् । जातीय भाषा, संस्कृति, कला संरक्षण र प्रवर्द्धनका क्षेत्रमा पनि बुटवलले बजेटमा समावेश गरेको छ । बुटवलमा सञ्चालनमा रहेका व्यवसायहरू करको दायरामा नआएपछि त्यसलाई नियमनमा ल्याउन बुटवलले राजस्व संकलन स्पेसल टास्क फोर्स गठनको विधि अपनाउने कार्यक्रम ल्याएको छ।

यस्तै, विगतदेखि दिँदै आएको दर्ता गर्न छुटेका र अन्य निकाय वा पालिकामा व्यवसाय दर्ता भई बुटवलमा सञ्चालनमा रहेका व्यवसायलाई आगामी कात्तिक मसान्तभित्रको समय मात्रै दिएको छ । ‘यस्तो सहुलियत अन्तिमपटकका लागि मात्रै हुने गरी विशेष व्यवस्था गरेको छु,’ बजेट वक्तव्यमा भनिएको छ ।

विपतका कारण व्यवसाय क्षेत्रमा आइपर्ने विपतलाई ध्यानमा राखेर व्यवसायी राहत कोष स्थापना गर्ने र व्यवसायीहरूलाई बुटवलमा आकर्षित गर्न व्यवसायी सम्मेलन आयोजना गर्ने कार्यक्रम अगाडि सारिएको छ । आइतबारको बैठकमा नगर प्रहरी ऐन र अन्य केही ऐनहरू संशाेधनका लागि टेबुल भएका छन् । बुटवलको नगरसभाको आगामी बैठक २१ गते बोलाइएको छ ।

सुझावित समाचार