निर्वाचित भएपछि आफूले पाउने सबै पारिश्रमिक र भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले यस वर्षको पारिश्रमिकबाट नगरको ग्रामीण भेगका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने भएका छन् ।
आर्थिक अभावका कारण शैक्षिक सामग्री किन्न नसक्दा बालबालिकाको पठनपाठनमा समस्या नहोस् भनेर आफूले पाउने पारिश्रमिकबाट कापी, कलम किनेर वितरण गर्न लागिएको उनले बताए । ‘यस वर्ष मैले पाउने करिब १० लाख रुपैयाँ ग्रामीण भेगका विद्यालयका वैकल्पिक आय नभएका छात्रछात्रालाई कापी–कलम किनेर दिने निर्णय गरेको छु,’ उनले भने ।
नगर प्रमुख हमालले आफ्नो फेसबुक पेजबाट भिडियो सन्देश जारी गर्दै विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोग गर्न विभिन्न व्यक्ति र संघसंस्थालाई सार्वजनिक अपिलसमेत गरेका छन् । नगरमा शैक्षिक सामग्री किन्ने क्षमता नभएका विद्यार्थी धेरै रहेको उल्लेख गर्दै उनले त्यस्ता विद्यार्थीलाई सहयोग गर्न आग्रह गरेका हुन्।
त्यसरी दिने कापीको बाहिरी पानामा दाताले आफ्नो वा आफूले चाहेको फोटो तथा सचेतनामूलक सन्देश छाप्न सक्ने नगर प्रमुख हमालले बताए । विद्यार्थीलाई वितरणका लागि हमालले खरिद गरेको कापीमा उनको फोटोसँगै लागुऔषध, सरसफाइ, पर्यावरणको संरक्षणलगायत सचेतनामूलक सन्देशहरू राखिएका छन् ।
कापी, कलम किन्न सक्ने क्षमता नभएका विद्यार्थीको पढाइको प्रगतिमा बाधा पुग्ने गरेको उनले बताए । आर्थिक अभावका कारण पोसाक, कापी, कलमलगायत शैक्षिक सामग्री किन्न नसक्दा कतिपय विद्यार्थी नियमित विद्यालय नजाने र बीचमै पढाइ छोड्ने समस्या छ ।
नगर प्रमुख हमालले गत आर्थिक वर्ष आफूले पाएको नौ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक र भत्ताले कक्षा आठको परीक्षामा शून्य नतिजा ल्याएका नगरका १७ वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए । गत शैक्षिक सत्रमा नगरस्तरीय कक्षा आठको परीक्षमा नगरका १७ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो । उनले सुरुदेखि नै आफूले पाउने पारिश्रमिक र भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।