तमोर करिडोरमा कालोपत्रे सुरु

शुक्रबार, ७ असार, २०८१
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङबाट तराई जोडिएको तमोर करिडोर कालोपत्रे गर्न सुरु गरिएको छ । त्रिदेशीय राजमार्गका रूपमा रहेको तमोर करिडोरको मूलघाट–गणेशचोक सडकखण्डको चौबिसे गाउँपालिकाअन्तर्गत फलामेटार–कुशेटार क्षेत्रमा कालोपत्रे सुरु गरिएको हो । 

विराटनगारको रानी भन्सारदेखि धनकुटा–पाँचथर–ताप्लेजुङ हुँदै चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको तमोर–करिडोर कालोपत्रे थालिएको हो । पहिलो चरणमा धनकुटाको मूलघाटदेखि पाँचथरको भालुचोकसम्म एक सय १२ किलोमिटरमा कालोपत्रे गर्न गत वर्ष ठेक्का लागेको थियो । निर्माण कम्पनी रौताहा क्षमादेवी जेभीले तमोर करिडोरको एक सय १२ किलोमिटरमध्ये ६६ किलोमिटर कालोपत्रेको जिम्मा पाएको छ । जसमा पहिलो चरणमा फलामेटार–सदामटार हुँदै मुर्कुटे–कुशेटारसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्रे गरिने तमोर करिडोर आयोजनाले बताएको छ ।

यो सडक पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न द्रुत मार्गका रूपमा निर्माण गरिएको हो । धनकुटाको मूलघाटदेखि भालुचोकसम्मको एक सय १२ किलोमिटर सडक कालोपत्रेका लागि ०७९ कात्तिकमा चार अर्ब १६ करोडमा ठेक्का लागेको थियो । करिडोरको मूलघाटदेखि नावाखोलासम्मको २८ किलोमिटर कालोपत्रेको चरणमा छ । तमोर करिडोरको ६६ किलोमिटर सडकको काम तीन वर्षमा पूरा गर्ने सम्झौता छ । भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बत जोड्न सरकारले ०६५ मा १० लाख बजेट विनियोजन गरेर आयोजना सुरु गरेको थियो । त्यसपछि धनकुटाको मूलघाटदेखि सुभाङसम्म ०६६ मा ट्र्याक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको हो । 

आयोजनाका अनुसार अहिले ४४ किलोमिटर सडकमा नाली निर्माणको कार्य सकिएको र तोकिएको समयभित्र फिदिमसम्म कालोपत्रे सक्ने आयोजनाले जनाएको छ । तमोर करिडोरमा चार अर्ब १६ करोडमा दुईवटा कम्पनीले ठेक्का लिएको हो । दुई कम्पनी रौताहा क्षमादेवी जेभीले र एपेक्स कम्पनीसँग ठेक्का सम्झौता गरेको तमोर करिडोर सडक आयोजनाले जनाएको छ । मूलघाटदेखि हाङठुवासम्म ६६ किलोमिटर रौताहा क्षमादेवी जेभीले दुई अर्ब ४० करोडमा र बाँकी खण्ड एपेक्स कम्पनीले एक अर्ब २४ करोडमा ठेक्का सम्झौता गरेको हो । 

तमोर करिडोर सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र तराईबीचको दूरी धेरै घट्नेछ । करिडोर निर्माणपछि पाँचथरको फिदिमदेखि धरान झन्डै तीन घण्टामा पुग्न सकिन्छ भने ताप्लेजुङदेखि झन्डै पाँच घण्टामा धरान पुग्न सकिन्छ ।

सुझावित समाचार