वेब प्रविधिमा विश्वव्यापी सुरक्षा जोखिमपछि राष्ट्र बैंकका सेवा अस्थायी रूपमा बन्द

शुक्रबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । वेब प्रविधि PHP मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ।

राष्ट्र बैंकले शुक्रबार (आज) अत्यावश्यक सूचना जारी गर्दै सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो। सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।

सेवा अवरुद्ध रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालहरू हेर्न आग्रह गरिएको छ।

त्यसैगरी, राष्ट्र बैंकले PHP मा देखिएको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पिएसओ), भुक्तानी सेवा प्रदायक (पिएसपी) र विप्रेषण कम्पनीहरूलाई आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ।

सम्बन्धित संस्थाहरूलाई सर्भरमा प्रयोग भइरहेका प्रणालीको सुरक्षा सुदृढ गर्न तथा नियमित सुरक्षा निगरानी बढाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

सम्भावित साइबर सुरक्षा जोखिमबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक सावधानी अपनाउन राष्ट्र बैंकले सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको छ।

सुझावित समाचार