भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरूलाई बजेट वितरण गर्ने भएको छ। आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा सो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो।
महानगरले पहिलोपटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट विनियोजन गर्ने नीति लिएको हो। महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले सूत्रका आधारमा गरिएको मूल्यांकनका आधारमा बजेट विनियोजन गर्न लागिएको बताए।
महानगरले आगामी आर्थिक वर्षका लागि वडाको ‘सिलिङ’ रु. ८२ करोड विनियोजन गरेको छ। यसमध्ये रु. ७५ करोड २९ वटा वडालाई बराबर वितरण गरिनेछ। यसबाट प्रत्येक वडाले रु. दुई करोड ५८ लाख ६२ हजार न्यूनतम पाउनेछन्। बाँकी सात करोड सूचकका आधारमा वितरण गरिनेछ।
उनका अनुसार राजस्व तुलनात्मक रूपमा बढी उठाउने, पुँजीगत खर्च बढी गर्ने, जनसंख्या, भौगोलिक अवस्था, असल अभ्यास, असल काम, शिक्षा, वातावरण, हरियालीलगायतका शीर्षकमा एक सय नम्बर राखेर मूल्यांकन गरी वडा छनोट गरिएको हो।
सूचकमा पहिलो वडा नम्बर २ भएको छ। यस वडाले रु. दुई करोड ९० लाख दुई हजार बजेट पाउने भएको छ । दोस्रोमा वडा नम्बर ३ पर्न सफल भएको छ । यस वडाले रु. दुई करोड ८९ लाख ५१ हजार बजेट पाउने भएको हो । त्यसैगरी, तेस्रोमा वडा नम्बर २० परेको छ । यस वडाले रु. दुई करोड ८९ लाख ४५ हजार प्राप्त गर्ने भएको छ।
यस्तै, सबैभन्दा कम बजेट पाउने वडा नम्बर २४ रहेको छ । यस वडाले रु. दुई करोड ७४ लाख २८ हजार पाउने भएको छ । चालू आर्थिक वर्षमा सबै वडाले रु. दुई करोड ६५ लाखका दरले रकम पाएका थिए । पहिलो नम्बरमा परेको वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाटले महानगरपालिकाले तोकेका सूचकमा राम्रो अंक पाएर आफ्नो वडा उत्कृष्ट भएको जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्षको भन्दा दोब्बर कर संकलन भएको छ । गत वर्ष रु. एक करोड पाँच लाख राजस्व संकलन भएकोमा अहिले रु. दुई करोड नाघेको छ । विद्यालयको एक सय मिटरभित्र सुर्तीजन्य पदार्थ पूर्ण निषेध गरिएको छ । सबै घरधुरीको तथ्यांक ‘अनलाइन’मा अद्यावधिक गरिएको छ । वडाभित्र पूर्ण रूपमा ‘स्मार्ट लाइट’ जडान गरिएको छ । नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रिकालीन बजारको तयारी गरिएको छ ।
गमला राखेर वडालाई हरियाली बनाइएको छ । लागुऔषध नियन्त्रणका लागि टोलटोलमा समिति बनाएर रात्रिकालीन गस्ती गरिएको छ । वातावरणमैत्री तथा पूर्ण सरसफाइको वडा घोषणा गर्ने तयारी गरिएको छ । रानाभाटले मूल्यांकन गरेर पहिलो हुन पाएकोमा थप ऊर्जा पैदा भएको बताए। वडा नम्बर ३ का अध्यक्ष विकास थापाले आफूले गरेको कामको मूल्यांकन भएको बताए। उनले भने, ‘वडाले महानगरले दिएको सूचकभित्र रहेर काम गरिरहेको छ।’
महानगर प्रमुख रेनु दाहालले सकारात्मक प्रतिस्पर्धा हुने गरी पहिलोपटक आफूहरूले सूचकको आधारमा वडालाई बजेट विनियोजन गर्न लागेको जानकारी दिइन्। उनले भनिन्, ‘वडाहरूबीचमा सकारात्मक प्रतिस्पर्धा भएर विकास र आमनागरिकको हितमा बढीभन्दा बढी काम गर्न यसले ऊर्जा पैदा गर्दछ।’ महानगरले चालू आर्थिक वर्षमा रु. ६ अर्ब ३१ करोडको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि रु. ६ अर्ब ६० करोडभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ।