अदालतले अन्तरिम आदेश जारी गरेको झा भवनमा भीमदत्त नगरको डोजर

शुक्रबार, १ असार, २०८१
डिजिटल संस्करण

अदालतले अन्तरिम आदेश जारी गरेको महेन्द्रनगरको एक भवनमा भीमदत्त नगरपालिकाले डोजर चलाएको छ । भीमदत्त नगरपालिकाले नगर विकास समितिको जमिनमा अवैध संरचना निर्माण गरेको भन्दै बिहीबार डोजर चलाएर आंशिक भत्काइदिएको हो । 

भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर चम्मनचोक बसपार्क क्षेत्रमा सुधा झा सञ्चालक रहेको सिद्ध विनायक किराना स्टोरमा पालिकाले डोजर चलाएको छ । झाले उच्च अदालत दिपायल महेन्द्रनगरमा दायर रिटमा उच्च अदालत नियमावली, ०७३को नियम ४२(१) बमोजिम सिद्ध विनायक किराना स्टोर हाललाई नभत्काउनू–नतोड्नू तथा कुनै पनि क्षति नपुर्याउनू भनी भीमदत्त नगरपालिकासहितका नाममा अन्तरिम आदेश जारी गरेको थियो। २८ जेठ ०८१ मा उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले सुधा झाको भवन मुद्दा किनारा नलागुन्जेलसम्म नभत्काउन आदेश जारी गरेको हो।

 आदेश जारी भएको १५दिनभित्रै आफैँ वा प्रतिनिधिमार्फत अदालतमा लिखित जवाफसमेत माग गरेको थियो ।  २७ जेठ ०८१ मा झाले भीमदत्त नगर विकास समिति, समितिका अध्यक्ष, सदस्यसचिव, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरविरुद्ध उच्च अदालतमा रिट दायर गरेकी थिइन । झाले १ वैशाख ०७० मा नगर विकास समितिसँग भीमदत्त नगरपालिका– ४ नम्बर वडाको किता नम्बर ५३१० को ०–०–५ क्षेत्रफल जमिन २० वर्षका लागि भाडामा लिए पनि ०९० सालसम्म सम्झौता बाँकी रहँदा पनि उठाउन खोजिएको भन्दै मुद्दा दायर गरेकी थिइन् । यसअघि सर्वोच्च अदालतले समेत नगर विकासकै जमिनमा बनेको पाठक इन्डस्ट्रिजलाईसमेत अल्पकालीन आदेश दिँदै दुवै पक्षलाई आगामी ७ असार ०८१ मा उपस्थित हुन आदेश जारी गरेको छ । झा परिवारले अदालतको आदेशविरुद्धमा घरमा डोजर लगाएर भत्काइदिएको गुनासो गरे पनि  भीमदत्त नगरपालिकाले झाले अदालतमा दायर गरेको रिटमा उल्लेख भएको ५३१० नम्बर कित्ता नै नभएकाले उक्त अवैध संरचना भत्काएको जनाएको छ ।

 भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले झाले अदालतबाट स्टे अर्डर भए पनि सोअनुरूप कित्ता नभएकाले उक्त भवन अवैध ठहर गरेरै भत्काउन सुरु गरेको बताए । ‘अदालतले सुधा झाको ५३१० नम्बर किताको मात्रै स्टे अर्डर दिएको छ,’ उनले भने, ‘हामीले भत्काएको घर सो कित्तावाला नभई फरक हो, यसमा हामीले अदालतको आदेश पालना नगरेको भन्न मिल्दैन ।’ नापी कार्यालयबाट उक्त कित्ता नम्बर यकिनका लागि पत्र पठाए पनि नापी कार्यालयबाट उक्त कित्ता नै नभेटिएको पत्र आएपछि मात्रै डोजर चलाएको प्रवक्ता अवस्थीले बताए । 

‘भीमदत्त नगरपालिकाले अवैध सरचना भत्काउने काम कुनै पनि हालमा रोक्दैन,’ उनले भने, ‘निरन्तर अघि बढ्छ, अवैध लिजमा बनेका सबै संरचना खाली हुन्छन् ।’ नगरपालिकाले ५ जेठदेखि सरकारी जमिन अतिक्रमण गरेर बनाएका संरचना हटाउने सुुरु गरेको थियो । नगर प्रवक्तासमेत रहेका भीनपा– ५ का वडाध्यक्ष पदराज अवस्थी, ४ का वडाध्यक्ष सुनील भट्ट अतिक्रमण हटाउने अभियानमा डोजर लगेर अग्रमोर्चामा खटिएका छन् । 

सुझावित समाचार