सटर बन्द नगर्न महानगरलाई उच्चको अल्पकालीन अन्तरिम आदेश

शुक्रबार, १ असार, २०८१
डिजिटल संस्करण

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई सामुदायिक विद्यालयको सटरमा ताला नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले ७ असारसम्मलाई सटर बन्द नगर्न बुधबार  महानगरका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले न्यायाधीश लेखनाथ पौडेलको इजलासले उक्त आदेश दिएको बताए । आचार्यले दुवै पक्षलाई ७ असारमा छलफलका लागि बोलाएको जानकारी दिए । ‘तत्काल सटर खाली नगर्नू वा नहटाउनू भनेर आदेश जारी भएको हो, अब ७ असारमा दुवै पक्षलाई राखेर छलफलपछि बाँकी विषय टुंगो लाग्नेछ,’ उनले भने ।

महानगरले खबर नै नगरी ताला लगाएर व्यवसायमा हानि पुर्याएको भनी तुलसीप्रसाद अवस्तीले मंगलबार रिट निवेदन दर्ता गरेका थिए । सोही आधारमा अदालतले महानगरको कदमलाई तत्कालका लागि रोक लगाएको हो । काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माले अदालतको कुरा मानेर अघि बढ्ने जानकारी दिए । 

सुझावित समाचार