पर्साको पर्सागढी नगरपालिकानिवासी मुकेश यादवले श्रीमतीलाई सुत्केरी बेथा लागेपछि आइतबार राति नारायणी अस्पताल लगे।
रातिकाे १ बजेसम्म यादवकी श्रीमतीकाे सामान्य जाँचसम्म हुन सकेन, न उनले भर्ना, पालाे र डाक्टरबारे नै जानकारी पाउन सके।
सुत्केरी बेथाले छटपटिएकी श्रीमतीले रातिकाे ३ बजे बच्चा जन्माइन्। बच्चा राख्ने कक्षमा पर्याप्त कर्मचारी नहुँदा राति नै उनले अन्य अस्पताल चहार्नुपर्याे।
यस्तै, बाराको पचरौता नगरपालिकानिवासी श्यामप्रसाद साह दाँतकाे समस्या लिएर अस्पताल पुगे। दाँतकाे एक्सरे गर्ने जनशक्ति नहुँदा उनले सेवा पाउन सकेनन्।
वीरगन्जदेखि ४० किलोमिटर टाढाबाट उपचारका लागि आएका साहले एक्सरेका लागि दिनभर कुर्नुपरेकाे दुखेसो पाेखे।
उनीहरूजस्तै नारायणी अस्पतालमा उपचार गराउनका आएका सयौँ सेवाग्राहीले पर्याप्त चिकित्सक नहुँदा सास्ती खेप्नुपरेकाे छ। गत साता अस्पताल प्रशासनले एकैपटक ४७ जना चिकित्सक र स्वास्थ्यकर्मी निकालेपछि अस्पतालकाे सेवा प्रभावित भएकाे छ।
विपन्नले उपचार गराउँदै आएको अस्पतालमा एकैपटक ठूलाे संख्या कर्मचारी निकाल्दा सेवा प्रभावित भएकाे हाे। मेडिकल सुपरिटेन्डेन्टले मनोमानी तरिकाले बर्खास्त गरेकाे कर्मचारीले आराेप लगाएका छन्।
निमित्त मेडिकल सुपरिटेन्डेन्टको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दीबेगर दैनिक ज्यालादारीमा कार्यरत ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलााई हटाउने निर्णय गरेको सूचनामा उल्लेख छ।
हटाइएका कर्मचारीमा आठौँ तहका मेडिकल अधिकृत चिकित्सक ११, सातौँ तहका मेडिकल अधिकृत एक, स्टाफ नर्स १२, हेल्थ असिस्टेन्ट तीन, रेडियोग्राफर पाँच, अहेव चार र कार्यालय सहयोगी सात गरी ४३ जना छन्।
दैनिक ज्यालादारीमा कामकाज गरिरहेका ४७ स्वास्थ्यकर्मी र कर्मचारीको २२ जेठदेखि सेवा अवधि समाप्त भएको छ।