रासायनिक मलका लागि लाइनमा किसान

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

‘मानो रोपेर मुरी फलाउने’ सिजन आउँदै गर्दा सल्यानका किसान भने रासायनिक मलका लागि लामो समय लाइन बस्न बाध्य भएका छन्। मकै र धानका लागि आवश्यक युरिया र डिएपी मलका लागि किसान सहकारीमा लाइन लाग्न बाध्य भएका हुन्। 

चर्को गर्मीमा लाइनमा बस्दा पनि मल नपाएर रित्तो हात घर फर्किनुपरेको शारदा नगरपालिका– १ श्रीनगरकी डुमा बुढाथोकीले बताइन्। उनले भनिन्, ‘तत्कालका लागि १० किलोजति डिएपी भए पुग्ने थियो, तर सहकारीले मल सकियो भनेपछि खाली घर फर्किनुपर्ने भयो।’

मकै, धानका लागि आफूलाई दुई बोरा युरिया र दुई बोरा डिएपी आवश्यक भए पनि २५–२५ किलो मात्र पाइएको अर्का किसान गणेश रोकाले बताए। किसानको मुख्य खेतीपातीको समयमा मलको अभाव हुनु राम्रो नभएको उनको भनाइ छ।

उनले भने, ‘भन्दा कृषिप्रधान देश भन्ने, तर किसानलाई आवश्यक परेको समयमा मल, बिउविजन नपाइने यो कस्तो कृषिप्रधान देश हो।’ कोटाअनुसारको मल आउँदा पनि किसानलाई मल पुर्याउन नसकिएको जनसेवी कृषि सहकारी संस्थाका अध्यक्ष नवीन भँडेलले बताए। 

साल्ट ट्रेडिङमार्फत सहकारीमा ८० बोरा डिएपी, सय बोरा युरिया र २० बोरा पोटास आएको भए पनि माग धेरै भएपछि एक बोराबराबर दुई किसानलाई मल वितरण गरिएको उनले बताए।  यता साल्ट ट्रेडङ कर्पोरेसन शीतलपाटीले भने कोटाअनुसारको मल आइरहेकाले यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी गरेको छ। 

कोटाअनुसारको मल केही आइसकेको र केही आउने क्रममै रहेकाले मलको अभाव नहुने साल्ट ट्रेडिङ कर्पोरेसन शीतलपाटीका प्रमुख प्रवीणजंग शाहले बताए। उनले कोटाभन्दा बढी माग भए थाहा भएन, अन्यथा कोटाअनुसारको मल आइरहेको बताए।
 
सल्यानमा  ५० देखि ६० हजार बोरा युरिया, २५ देखि ३० हजार बोरा डिएपी र आठदेखि १० हजार बोरी पोटासको माग हुने गर्दछ। जिल्लाभर सात हजार ७८ हेक्टर क्षेत्रफलमा धान र १९ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकै खेती हुँदै आइरहेको छ। जिल्लामा डिएपीभन्दा युरिया मलको माग बढी हुने गर्दछ। 

See More On

सुझावित समाचार