भिसेन्जोको सम्झौता थप्ने तयारीमा एन्फा

मुख्य प्रशिक्षक भिसेन्जोको प्रशिक्षणमा नेपालले १८ अन्तर्राष्ट्रिय खेलमा चार जित निकाल्दा तीन बराबर र ११ मा हार व्यहोरेको छ, फिफा विश्वकप– २०२६ छनोटमा पाँच खेलमा १८ गोल खाएको छ

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसको सम्झौता नवीकरण गर्ने तयारी गरेको छ । उनको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय खेलमा गतिलो नतिजा निकाल्न नसकेको समयमा सम्झौता नवीकरण गर्न लागेको हो । भिसेन्जोको प्रशिक्षणमा नेपालले फिफा विश्वकप– २०२६ छनोटको पाँच खेलमा हारको सामना गरेको छ । 

उनको प्रशिक्षणमा नेपालले समग्रमा १८ मध्ये ११ अन्तर्राष्ट्रिय खेलमा हारको सामना गरेको छ भने चार जित र तीन खेलमा बराबरी नतिजा हात पारेको छ । नेपालले ३५ गोल खाँदा १० गोल फर्काएको छ । उनको प्रशिक्षणमा २२ खेलाडीले डेब्युको अवसर पाएका छन् । अन्तर्राष्ट्रिय खेलमा राम्रो नतिजा दिलाउन नसके पनि प्रशिक्षक भिसेन्जोलाई एन्फा कम्तीमा एसियन कप छनोटसम्म राख्ने मनस्थितिमा छ । एन्फा र प्रशिक्षक भिसेन्जोबीचको सम्झौता जेठ अन्तिम सकिन्छ । ‘सम्झौता अन्तिमतिर पुगेको छ, नवीकरणबारे छलफल चलिरहेको छ,’ एन्फा महासचिव किरण राईले भने, ‘यद्यपि, अहिलेसम्म कुनै निर्णय भएको छैन ।’ 

एन्फाले १७ फागुन ०७९ मा भिसेन्जोलाई नेपाली टोलीका मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो । पदपूर्ति समितिको सिफारिसविना नियुक्ति गरेको एन्फामाथि आरोप लागेको थियो । एन्फा र प्रशिक्षकबीच एकवर्षे सम्झौता भएको थियो । त्यसपछि विश्वकप छनोटका बाँकी चार खेल भन्दै एन्फाले दोस्रोपटक तीन महिना सम्झौता थप ग¥यो । सम्झौताअनुसार मुख्य प्रशिक्षकका रूपमा भिसेन्जोको अन्तिम खेल मंगलबार हुने यमनविरुद्ध हुनेछ । 

युइएफए प्रो लाइसेन्स प्राप्त ३९ वर्षीय इटालियन प्रशिक्षक भिसेन्जोको पारिश्रमिक दक्षिण कोरिया फुटबल संघले अनुदान दिँदै आएको छ । एन्फा कोरियाको प्रतिक्रियाको प्रतीक्षामा छ । भिसेन्जोलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा कोरियाका पदाधिकारीसँग छलफल भइरहेको एन्फा स्रोतले बतायो । ‘उनलाई नै राख्ने वा अर्काे प्रशिक्षक दिने विषयमा पनि सल्लाह भइरहेको छ,’ एन्फा स्रोतले भन्यो । 

पंकज नेम्वाङ एन्फाको नेतृत्वमा आएपछि कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरीलाई प्रशिक्षकबाट हटाइएको थियो । मुख्य प्रशिक्षक नियुक्त नहुँदासम्मको समयमा प्रदीप हुँमागाईं र प्रवेश कटुवालले समान एक खेलमा नेपाली टोलीको प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हालेका थिए । त्यसपछि एन्फाले भिसेन्जोलाई नियुक्त गरेको हो । 

एसियन कप छनोट खेल्ने
अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने विश्वकपअन्तर्गत दोस्रो चरणको समूह ‘एच’मा नेपालले लगातार पाँच खेलमा हारको सामना गरेको छ । समूहमा नेपाल अंक र गोलविहीन छ । नेपालले १८ गोल व्यहोरेको छ । गत साता नेपाल युएईसँग ४–० ले पराजित भएको थियो । नेपाल आफ्नो समूहमा पुछारमा छ । यस समूहबाट युएई र बहराइनले विश्वकप छनोटको तेस्रो चरणमा स्थान बनाएका छन् । ४ अंकको यमन र अंकविहीन नेपालले एसियन कप छनोट खेल्ने अवसर पाएका छन् ।

खेलाडीसँग सम्बन्ध राम्रो नभएको आरोप
प्रशिक्षक भिसेन्जो र खेलाडीबीचको सम्बन्ध सुमधुर नभएको एन्फाका पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंहले बताएका छन् । ‘अहिलेका प्रशिक्षक र खेलाडीबीचको सम्बन्ध राम्रो नभएको पाएको छु,’ सिंहले भने, ‘फुटबलमा प्रशिक्षक र खेलाडीबीचको सम्बन्ध राम्रो हुनुपर्छ ।’ टोलीका केही सिनियर र युवा खेलाडीसँग मात्रै प्रशिक्षकको सम्बन्ध राम्रो छ । प्रशिक्षक भिसेन्जोमाथि धेरैभन्दा अभ्यास गराउने र नचाहिने विषयमा मिटिङ राख्ने गरेको आरोप छ । 

साउदी अरेबियामा रहेको टोलीले विश्राम समय भएको भन्दै आधा दर्जन खेलाडी सहभागी हुन मानेनन् । नेपाली राष्ट्रिय टोलीबाट १३ गोल गरेका अञ्जन विष्ट अहिले नेपालमै छन् । प्रशिक्षककै कारण आयुष घलान धेरै पछि टोलीमा परे । मुख्य खेलाडी एरिक विष्ट टोलीबाट बाहिर छन् । सुरजजिउ ठकुरी र दीप कार्की प्रशिक्षणमै गएका छैनन् । ‘प्रशिक्षकसँग ५–६ जना खेलाडी प्रशिक्षण नगर्ने भनी बसेका छन्,’ सिंहले भने, ‘यस्तो प्रशिक्षकलाई एफएले पनि राखिराख्न हुन्न ।’

नतिजा नआउँदा सम्झौता नवीकरण गर्नुहुँदैन
उपेन्द्रमान सिंह, पूर्वउपाध्यक्ष, एन्फा

प्रशिक्षकको विषयमा हायर एन्ड फायर हुनुपर्छ । एफएले प्रदर्शन पनि हेर्नुपर्ने हो । नतिजा नआएपछि सीधै फायर गरिन्छ । प्रशिक्षकको विकल्प खोज्नुपर्छ । नतिजा र सिस्टममा परिवर्तन आउँदा मात्र सम्झौता गर्न सकिन्थ्यो । तर, नतिजा नै नआएको छैन भने एन्फाले सम्झौता कुनै पनि हालतमा गर्नुहुँदैन । धेरै खेलाडीसँग सम्बन्ध राम्रो नभएको कुरा पनि आएको छ । 

समग्रमा नतिजा
जम्मा खेल     १८
जित     ४
बराबर     ३
हार     ११
गोल खाएको     ३५
गोल गरेको     १०

छलफलकै क्रममा छौँ
किरण राई, महासचिव, एन्फा

अहिले हामी प्रशिक्षकका विषयमा छलफलकै क्रममै छौँ । एन्फाले उनलाई निरन्तरता दिन सक्छ । अहिलेसम्म कुनै निर्णय भएको छैन । केवल वार्ताकै क्रममा छौँ । 

नेपालमै बस्ने चाहना : प्रशिक्षक
प्रशिक्षक भिसेन्जो भने नेपालमै रही प्रशिक्षण गर्न चाहन्छन् । गत मंसिरमा यमनसँगको विश्वकप छनोट खेलका क्रममा उनले आफू नेपालमै बस्न चाहेको प्रतिक्रिया दिएका थिए । ‘म यहाँ बस्न चाहन्छु । मलाई नेपाली जनता मन पर्छ,’ उनले भनेका थिए, ‘नेपाली दयालु छन् ।’

See More On

सुझावित समाचार