आइसिसी टी–२० विश्वकप प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको नेपालले लगातार विकेट गुमाएको छ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी खेलमैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो। आधा बाटो तय गर्दा नेपालले महत्त्वपूर्ण चार विकेट गुमाइसकेको छ।
टिमको स्कोर ५२ हुँदा नेपालले कुशल मल्लका रूपमा चौथो विकेट गुमाएको हो। नौ बल सामना गरेका कुशलले नौ रन नै बनाए। उनी ठूलो सट प्रहार गर्ने चक्करमा विकेट गुमाउन पुगे।
त्यसअघि जम्मा ४० रन हुँदा नेपालले दुवै ओपनरहरू कुशल भुर्तेल र आसिफ शेख तथा अनिल साहलाई गुमाएको थियो। पछिल्ला धेरै म्याचमा नेपाली ओपनिङ जोडीले राम्रो सुरुवात दिलाउन सकेको छैन।
सोही खराब प्रदर्शन दोहोर्याएका आसिफ आड बलमा चार तथा कुशल दश बलमा सात रन बनाएर आउट भए। आसिफ आउट भएपछि क्रिजमा आएका अनिलले पनि १२ बलमा जम्मा ११ रन मात्र बनाए।
अहिले क्रिजमा कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। यी दुईको काँधमा जिम्मेवारी आएको छ।
दश ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएर ५३ रन बनाएको छ। रोहितले १९ बलमा १५ रन र दीपेन्द्रले दुई बलमा एक रन बनाएका छन्।