सप्तपातालमा राजकुलोबाट पानी ल्याउने बाटो खुल्यो

चक्रपथ खन्न सडक विभागले दियो अनुमति, सडकको स्वरूप बिगार्न भने नपाइने

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण
सप्तपातालमा राजकुलोबाट पानी ल्याउने बाटो खुल्यो

ललितपुर महानगरपालिकाले निर्माण गरेको लेले–टीकाभैरवस्थित राजकुलो (बायाँ) र मर्मत गरेको लगनखेलस्थित सप्तपाताल पोखरी (दायाँ) । तस्बिर : संजित परियार/नयाँ पत्रिका

ललितपुरको ऐतिहासिक पोखरी सप्तपाताल भरणमा राजकुलोमार्फत पानी ल्याउन बाटो खुलेको छ । राजकुलो निर्माणमा बाधक बनेको चक्रपथ खन्न सडक विभागले अनुमति दिएसँगै अब ललितपुर महानगरले लेले–टीकाभैरवदेखि पानी ल्याएर सप्तपाताल भरण गर्ने भएको छ । 

सहरीकरणसँगै मासिएका राजकुलोलाई ललितुपर महानगरपालिकाले यसअघि नै ब्युँताउन थालिसकेको छ । यही क्रममा लेले–टीकाभैरव हुँदै ढोलाहिटीसम्म राजकुलो निर्माणसमेत गरिसकेको छ । ढोलाहिटीबाट यता भने सडक खन्न सडक विभाग तथा सडक डिभिजन कार्यालय ललितपुरले अनुमति नदिएपछि काम रोकिएको थियो । तर, १५ दिनअघि विभागले अनुमति दिएसँगै अब उक्त राजकुलो चक्रपथभित्रको सप्तपाताल तथा पलेस्वा पोखरीसम्म जोडिने भएको छ । डिभिजन कार्यालय ललितपुरका प्रमुख मुकुन्द अधिकारीले सडक नबिगार्ने गरी राजकुलो बनाउन दिने सहमति भएको बताए ।

‘उहाँहरूले सडक भद्रगोल पार्न पाउनुहुन्न, प्वाल पारेर वा छेडेर पानीको पाइप राख्छौँ भन्नुभएको छ,’ उनले भने, ‘तर, सडक भत्काएर छाड्न पाइँदैन ।’ राजकुलोबाट पानी ल्याएर लगनखेलमा निर्माण हुँदै गरेको सप्तपाताल पोखरीमा खसाल्ने योजना महानगरको ६ वर्षअघिकै हो । ‘राजकुलो परम्परागत पानीप्रणाली, कृषि र पोखरीसँग जोडिएको छ, कुनै वेला चक्रपथ खन्ने क्रममा यसलाई एकाएक गायब पारिएको थियो । अब त्यही चक्रपथ खनेरै भए पनि राजकुलोको सभ्यता जोगाउँदै छौँ,’ मेयर चिरिबाबु महर्जनले भने, ‘सडक विभागले अनुनयविनय गरेपछि चक्रपथ खन्न अनुमति दियो । तीन वर्षदेखि अनुमति मागेको माग्यै थियौँ ।’

उनले राजकुलो भए मात्रै सप्तपाताल पोखरीको सभ्यता कायम रहने भएकाले राजकुलो र सप्तपाताल पोखरी निर्माण एकैपटक थालिएको बताए । अबको एक वर्षभित्र राजकुलोको पानी सप्तपाताल पोखरीमा ल्याइने उनको भनाइ छ । ०७९ मा निर्वाचित भएलगत्तै मेयर महर्जनले आफ्नै कार्यकालमा सप्तपातालमा कमलको फूल फुलाउने घोषणा पनि गरेका थिए । घोषणाअनुसार नेपाली सेनाले अतिक्रमण गरेको सप्तपातालको जग्गासमेत फिर्ता ल्याएका थिए । पोखरीका लागि राजकुलो ब्युँताउनु चुनौतीपूर्ण भए पनि सम्भव भएको मेयर महर्जनले जानकारी दिए । 

अहिले सप्तपाताल पोखरीको माटो निकाल्ने र पुनर्निर्माण भइरहेको छ । सप्तपातालसँगै जोडिएको पलेस्वा पोखरी पुनर्निर्माण र मर्मत भइरहेको छ । राजकुलोको पानी ल्याएपछि सुरुमा सप्तपातालमा खसालिनेछ र सप्तपातालबाट पलेस्वा पोखरीमा जोडिनेछ । हाल सप्तपाताल र पलेस्वा पोखरीवरिवरिको क्षेत्रफल ४५ रोपनी छ । पोखरीवरिपरि हरियाली र पार्क निर्माणसमेत महानगरले गरिरहेको छ । महानगरले यो वर्ष पोखरीको माटो निकाल्न र अन्य कामका लागि ६० लाखको टेन्डर लगाएको छ । यो काम सकिएपछि अर्को कामका लागि अर्को टेन्डर आह्वान गरिनेछ । 

 यसरी सम्भव भयो राजकुलो ल्याउन  
सप्तपाताल पोखरी ललितपुरको सबैभन्दा फराकिलो र गहिरो मानिन्छ । तर, सहरीकरण र भौतिक संरचना बढ्न थालेसँगै ०३४/३५ सालदेखि सप्तपातालको जग्गा अतिक्रमणको चपेटामा पर्न थालेको थियो । जानकारका अनुसार यो पोखरी लगनखेल बसपार्कस्थित अशोक स्तूपासँगै १४ रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको थियो  । 

राजकुलो मासिन थालेपछि पोखरी सुक्न थालेको थियो । पोखरी सुकेपछि स्कुल तथा अन्य व्यक्तिले यो पोखरी कब्जा गरेका थिए । तर, प्रमाण नभएकाले सबै जग्गा फिर्ता ल्याउन नसकिएको महानगरले जनाएको छ । पोखरीमा ललितपुरको चापागाउँ, टीकाभैरव हुँदै राजकुलोमार्फत पानी ल्याइन्थ्यो । चक्रपथ बनेपछि त सप्तपातालमा आउने पानीको मुख्य स्रोत राजकुलो पनि मासियो र सप्तपाताल नै विलय हुने अवस्था आएको छ । त्यससँगै ललितपुर क्षेत्रका ढुंगेधारा र पोखरी सुकेका छन् । पोखरी सुकेपछि सप्तपातालसँग जोडिएको राजकुलोको खोजी महानगरले थालेको छ । खोजीका क्रममा सातदोबाटो क्षेत्रमा राजकुलो अतिक्रमण भए पनि भित्री क्षेत्रहरूमा भने राजकुलोको ठाउँ कतै–कतै बाँकी थियो ।

त्यसैलाई आधार मानेर खोतल्दै जाने क्रममा महानगरले लेले–टीकारभैरवदेखि नै राजकुलो ल्याउन सम्भव भएको हो । 
करिब डेढ वर्षअघि पोखरीको जग्गा फिर्ता ल्याएर लगनखेलस्थित वटुकभैरव मन्दिरअगाडिको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माण सुरु भएको थियो । स्कुलले कब्जा गरेको जग्गा महानगरमातहत ल्याएपछि पुनर्निर्माण सुरु भएको थियो । लगनखेलस्थित नमुना मच्छिन्द्र स्कुलले पोखरीको ११२ नम्बर कित्ता जग्गा लामो समयदेखि प्रयोग गर्दै आइरहेको थियो । तर, ३ असार ०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा फैसला गरेपछि फिर्ता ल्याउन सहज भएको थियो ।

लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न ०६१ मा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्चको फैसलासँगै ढुंगेधारा तथा पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकासेपानीविद् प्रकाश अमात्य, पानीविद् सुरेन्द्र श्रेष्ठ, पुष्पमान अमात्यलगायतले डिपिआर तयार पारेका थिए ।

सुझावित समाचार