च्याटजिपिटीको महिमामण्डनले करछलीको प्रवृत्तिदेखि गोपनीयतामाथिको आक्रमणसम्मका यस उद्योगका कुरूप पक्षलाई ओझेलमा पारेको छ
जब तपाईं प्रविधि उद्योगको तस्बिर उतार्न खोज्नुहुन्छ, तपाईं आफ्नो मोबाइलको इन्टरनेट ब्राउजर र एपहरूजस्ता भौतिक स्थानमा अनुपस्थित चिजबिजबारे सोच्नुहुन्छ । तर, यी सबै जानकारी भण्डारणका लागि आवश्यक पूर्वाधार (बिजनेस पार्क र सहरबाहिर राखिएका डाटा सेन्टरहरू)ले ठूलो परिमाणमा ऊर्जा खपत गर्छन् । नाम ‘क्लाउड’ भए पनि यिनले प्रयोग गर्ने पूर्वाधारले व्यावसायिक उडानले भन्दा बढी हरितगृह उत्सर्जन गर्छन् । दृष्टान्तका लागि सन् २०१८ मा युट्युबबाट भाइरल भएको गीत ‘डेस्पासितो’ले बर्सेनि ४० हजार अमेरिकी घरलाई तातो राख्न चाहिनेजति ऊर्जा खपत गर्छ ।
प्रविधि उद्योगको एउटा ठूलो पर्यावरणीय विनाशकारी पक्ष यो हो । हुन त प्रविधिले हामीलाई स्मार्ट मिटर र किफायती सौर्य ऊर्जामार्फत शून्य उत्सर्जनमा पुग्न दिशामा ठूलो भूमिका खेलेको पनि छ । तर, हामीले यसको पर्यावरणीय पदचिह्नमा ध्यान दिनु महत्वपूर्ण हुन्छ । च्याटजिपिटीजस्ता लार्ज ल्यांग्वेज मोडल यी प्रविधिमध्ये पनि सबैभन्दा ऊर्जा खपतकारी प्रविधि हुन । माइक्रोसफ्टको डाटा फ्यासिलिटीमा च्याटजिपिटी–३ लाई तालिम दिने मेसिनलाई चिसो बनाउन करिब सात लाख लिटर पानी प्रयोग भएको हुने अनुसन्धानले देखाएको छ ।
यस्ता प्रविधिको महिमामण्डनले करछलीको प्रवृत्तिदेखि गोपनीयतामाथिको आक्रमण र हाम्रो ध्यानाकर्षणको शोषणसम्मका यस उद्योगका कुरूप पक्षलाई ओझेलमा पारेको छ र ती बिरलै समाचार बन्छन् । यसको वातावरणीय प्रभाव एउटा प्रमुख मुद्दा हो । तर, यस्ता मोडेल उत्पादन गर्ने कम्पनीहरू आफूले उपभोग गर्ने ऊर्जाको परिमाणबारेमा मौन रहने गर्छन् । सायद उनीहरू यी विषयमा हाम्रो ध्यान जाओस् भन्ने चाहँदैनन् ।
गुगलको ग्लोबल डाटासेन्टर र मेटाको एआई रिसर्च सुपरक्लस्टर (आरएससी) जस्ता महत्वाकांक्षी योजनाले यो उद्योगको ऊर्जा प्रधान प्रकृतिलाई थप बढावा दिँदै यी फ्यासिलिटीले ऊर्जा खपतमा उल्लेखनीय वृद्धि गर्न सक्ने चिन्ता बढाउँछन् । यसबाहेक, यी कम्पनीले जीवाश्म इन्धनमा निर्भरता कम गर्ने लक्ष्य पनि राखेका छन् । जसका कारण उनीहरूले दक्षिण अमेरिकाजस्ता बिजुली सस्तो भएका क्षेत्रलाई डाटा सेन्टरहरू बनाउने स्थानका रूपमा छनोट गर्न सक्छन्, जसले विश्वका सुक्खा भागमा पानी खपतको मुद्दालाई चर्काउन सक्छ । ठूला घोषणा गर्नुअघि प्रविधि कम्पनीहरूले आफ्नो विस्तार योजनाका लागि आवश्यक संसाधन प्रयोगबारे पारदर्शी हुनुपर्छ । यसबाहेक, लिथियम र कोबाल्टजस्ता खनिज सामान्यतः सवारीसाधनका ब्याट्रीसँग सम्बन्धित छन् ।
ती डाटा सेन्टरमा प्रयोग हुने ब्याट्रीका लागि पनि महत्वपूर्ण छन् । यी खनिजको उत्खनन प्रक्रियामा अक्सर ठूलो मात्रामा पानीको प्रयोग हुन्छ, जसले प्रदूषण निम्त्याउन सक्छ, पानी–सुरक्षालाई कमजोर पार्न सक्छ । यी खनिजको उत्खनन अक्सर मानवअधिकार उल्लंघन र कमजोर श्रम मापदण्डसँग जोडिने गरेका छन् । जीवाश्म इन्धनमा निर्भरता सीमित गर्ने जलवायु लक्ष्य प्राप्तिको प्रयासले सबैलाई सुरक्षित र सुलभ पानी आपूर्तिको सुनिश्चित गर्ने अर्काे लक्ष्यमा सम्झौता गर्नुपर्ने हुन सक्छ । यसबाहेक, महत्वपूर्ण ऊर्जा स्रोतहरू प्रविधिसम्बन्धी उद्यमलाई दिँदा घरायसी बिजुलीजस्ता आवश्यकताका लागि ऊर्जा अभाव निम्त्याउन सक्छ । बेलायतको हालैको तथ्यांकले देशको जीर्ण भइसकेको विद्युत् सञ्जालले किफायती आवास परियोजनालाई अवरोध गरिरहेको देखाउँछ । घरपरिवारले जीवाश्म इन्धनको खपत कम गर्दै र बिजुलीमा बढी निर्भर हुँदै जाँदा कमजोर राष्ट्रिय ग्रिडमा अझ बढी दबाब पर्दा यो समस्या थप खराब हुनेछ । दृष्टान्तका लागि, विद्युत् नेटवर्कमा पर्याप्त क्षमता नहुँदा बाइसेस्टरमा सात हजार नयाँ घर बनाउने योजना रोकिएको थियो ।
व्यवसायहरूले आफ्ना सेयरधारकलाई मुनाफा कमाउने काम मात्रै नगरून् भन्ने अपेक्षा गर्ने यो युगमा सरकारले आफूले लगानी र साझेदारी गर्ने संस्थाका कार्य मानिस र यो ग्रहका लागि लाभकारी छन् कि छैनन् भन्ने आधारमा मूल्यांकन गर्न आवश्यक हुन्छ । अर्काे शब्दमा, ‘विजेता’का रूपमा क्षेत्र वा प्रविधि छनोट नगर्ने गरी नीतिहरू डिजाइन गर्न आवश्यक छ । छनोट गर्दा सही दिशाका कम्पनीलाई छान्नुपर्छ । वातावरणीय अभ्यास र प्रभावको प्रकटीकरणलाई सरकारी सहयोगको सर्त बनाउँदा अधिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सकिन्छ । विश्वव्यापी खनिज आपूर्ति शृंखलामा पनि यस्ता उपायले कर्पाेरेट जवाफदेहितालाई बढावा दिन सक्छ । मानवअधिकारको बढी परिपालन गर्न सहयोग हुन्छ ।
प्रविधिगत प्रगति र पर्यावरणीय दिगोपनको मिलनबिन्दुलाई पत्ता लगाउने सवालमा नीति निर्माताले कम दोहनकारी व्यापार मोडेल लागू गर्न चुनौती सामना गरिरहेका छन् । यो भनेको क्रमिक विकासको दृष्टिकोण अपनाउने कुुरा मात्र होइन । व्यवस्थित दृष्टिकोण अपनाउने, आवश्यक योजना र कार्यान्वयन क्षमता निर्माण गर्न सरकारहरूलाई सशक्त बनाउने कुरा पनि हो ।
– गार्जियनबाट