कालिका र अमरसिंह माविले कास्की जिल्लास्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रिज अन्तरमावि छात्रछात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत क्रमश: छात्र र छात्रातर्फको उपाधि हात पारेका छन् ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा बिहीबार सम्पन्न छात्रतर्फको फाइनल खेलमा कालिकाले नवप्रभात माविलाई ६ विकेटले र छात्रातर्फ अमरसिंहले सिद्ध माविलाई १५ रनले पराजित गर्दै उपाधि हात पारेका हुन्।
छात्रतर्फको खेलमा टस जितेर ब्याटिङ गरेको नवप्रभातले ११.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५२ रन मात्रै बनाएको थियो । ५३ रनको लक्ष्य पछ्याएको कालिकाले ७.६ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
छात्रातर्फ पहिलो ब्याटिङ गरेको अमरसिंहले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक सय पाँच रन बनाएको थियो । एक सय ६ रनको लक्ष्य पाएको सिद्ध ९० रनमै समेटिन पुगेको थियो । प्रतियोगितामा छात्रतर्फ कालिकाका समीर अधिकारी सर्वोत्कृष्ट खेलाडी, नवप्रभातका अनिश पटेल उत्कृष्ट बलर तथा सिद्धका निशान नेपाली उत्कृष्ट ब्याट्सम्यान बने ।
छात्रातर्फ अमरसिंहकी चन्द्रमाया बराल सर्वोत्कृष्ट खेलाडी, सिद्धकी रचना चौधरी उत्कृष्ट बलर तथा सिद्धकै रोजी परियार उत्कृष्ट ब्याटर घोषित भएका आयोजक समितिका अध्यक्ष बबिन कुँवरले जानकारी दिए । विजयी टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।