विद्युतीय चुरोट (भेप) र ब्रेक सुमार्फत नेपालमा दुबईबाट सुन तस्करी गर्ने गिरोहका सदस्यलाई थुनामा पठाइएको छ। आइतबार जिल्ला अदालत काभ्रेपलाञ्चोकले यस्तो आदेश गरेको हो।
जिल्ला अदालतमा तीनजनाविरुद्ध नागरिकता र राहदानीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। ७ जेठमा दुई कर्मचारी तथा एकजना तस्करविरुद्ध मुद्दा दर्ता भएको थियो।
यसैको थुनछेक बहसपछि न्यायाधीश शिवकुमार पोखरेलले नाइके दाबा छिरिङ (नेपाली नाम निमा तामाङ) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
जिल्ला प्रशासन काभ्रेका नागरिकता फाँटमा कार्यरत रामचन्द्र अर्याल र झपेन्द्र खरेललाई भने धरौटीमा रिहा गरिएको अदालतले जनाएको छ। अर्याललाई ५० हजार र खरेललाई भने ६ लाख रुपैयाँ धरौटी माग भएको हो।
छिरिङले ०७९ पुस र ०८० असारमा क्रमशः दुबई र हङकङबाट सुन तस्करी गरेको भेटिएको थियो। उनले दुबईबाट ९ र हङकङबाट ६१ किलोग्राम सुन नेपाल भित्र्याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको छानबिनले देखाएको थियो।
छिरिङले निमा तामाङ नामबाट नेपालको समेत नागरिकता र राहदानी प्रयोग गरेका थिए। उनको नागरिकता २० पुस ०७४ मा काभ्रे जिल्ला प्रशासनबाट जारी भएको थियो। छिरिङ बेल्जियमको स्थायी नागरिक हुन्।