सिरोहिया भेट्न कांग्रेस नेता निधि जिप्रका धनुषामा

बिहिबार, १० जेठ, २०८१
डिजिटल संस्करण

नागरिकतासम्बन्धी मुद्दामा तीन दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि प्रहरी कार्यालय धनुषा पुगेका छन्।

प्रहरी हिरासतमा रहेका सिरोहियालाई भेट्न बिहीबार नेता निधि जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। जिल्ला अदालत धनुषाले हिजो नागरिकतासम्बन्धी विवादमा सिरोहियालाई तीन दिन थुना राखेर अनुसन्धान गर्न आदेश गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियासँग भेटघाटपश्चात् नेता निधिले वर्तमान गृहमन्त्री रवि लामिछाने प्रतिशाेध साँध्न सिरोहियामाथि झुटाे मुद्दामा पक्राउ गरेको आरोप लगाए। पूर्वगृहमन्त्रीसमेत रहेका नेता निधिले सिरोहियामाथि लगाइएका आरोपहरू निराधार र त्रुटिपूर्ण रहेको दाबी गरे।

व्यवस्थापकीय र कानुनी त्रुटिका कारण नागरिकतामा तिथि-मिति फरक देखिएको हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘उहाँ हाम्रो छिमेकी हो। जनकपुरमा हाम्रो घर उहाँको घर नजिकै छ। उहाँको बुबा घासीराम सिरोहिया र मेरो बुबा महेन्द्रनारायण निधिदेखि नै हाम्रो परिवारिक सम्बन्ध छ। त्यसकारण उहाँ कुनै विदेशी नागरिक होइन। उहाँ खाटी नेपाली हो। उहाँको नागरिकतामा शंका गर्नेहरूमाथि शंका गर्नुपर्छ जस्तो लाग्छ।’

सहकारी ठगी प्रकरणमा संलग्न रहेको भनिएका गृहमन्त्री रवि लामिछानेबारे कान्तिपुरले प्राथमिकता दिएर समाचार प्रकाशन गरेपछि बदलाको भावनाले सिरोहियालाई पक्राउ गर्न लगाइएको नेता निधिकाे भनाइ थियाे।  

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन, कैलाश सिरोहियाको रिहाइसहितका माग लिएर कांग्रेसले सदनदेखि सडकसम्म आन्दोलन गर्ने बताए। 

यसअघि आजै नेकपा एमालेकी नेतृ तथा पूर्वमन्त्री जुलीकुमारी महतोले सिरोहियासँग जिल्ला प्रहरी कार्यालयमै गएर भेटेकी थिइन्। नेतृ जुलीले सिरोहियासँग पारिवारिक सम्बन्ध रहेकाले भेटघाट गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेको बताइन्। 

नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामचन्द्र झा पनि सिरोहियालाई भेट्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका थिए।  
 

सुझावित समाचार