जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दा बिमस्टेकले गम्भीरतापूर्वक लेओस् : राष्ट्रपति

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले बिमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्। 

राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहेका बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार गरेको शिष्टाचार भेटका क्रममा उनले यस्तो बताएका हुन्। 

‘हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गाँसिएको छ, त्यही भएर जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा बिमस्टेक गम्भीर बनोस् भन्ने मेरो आग्रह छ,’ राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।  

उनले बिमस्टेकमा हाल रहेको पर्वतीय अर्थतन्त्रको क्षेत्रसँगै त्यसमा पर्वतीय वातावरण जोडेर काम गर्न पनि सुझाव दिए। राष्ट्रपति पौडेलले बंगालको खाडी क्षेत्रका राष्ट्रहरूबीच सहकार्य सुदृढ बनाउन यस मञ्चलाई नेपालले उच्च महत्व दिएको बताए। 

ऊर्जा, पर्यटन, कृषि, व्यापार र लगानी बिमस्टेक क्षेत्रको साझा समृद्धिको महत्त्वकांक्षा पूरा गर्न  सहयोग पुर्याउने उच्च सम्भावना भएको क्षेत्रहरू भएको उनको भनाइ थियो। 

सो अवसरमा महासचिव पाण्डेले जलवायु परिवर्तन बिमस्टेकका सात सहयोगका क्षेत्रमध्ये एउटा महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै पर्वतीय पर्यावरण सन्तुलनमा राख्नका लागि बिमस्टेकले काम गरिरहेको बताए। 

उनले संस्कृति, पर्यटन र भिसासम्बन्धी विषयमा जनस्तरको सम्बन्धको क्षेत्रमा नेपालले नेतृत्वदायी र महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। 

सुझावित समाचार