प्रादेशिक बिउबिजन प्रयोगशाला, महोत्तरीको अनुगमन टोलीले जनकपुरधामको मिरा बिज भण्डार, भुर्देव बिज भण्डार, सिराहाको सिराहा बजारस्थित चन्द्र एग्रोभेट, लहानको सरस्वती र भगवती एग्रोभेटमा निरीक्षण गर्दा सिफारिस नभएको धानको बिउ फेला पारेको जनाएको छ ।
प्रतिबन्धित बिउ जफत गरी फिर्ता पठाउन एग्रोभेटहरूलाई निर्देशन दिएको बिउबिजन प्रयोगशालाका निमित्त प्रमुख श्रीप्रसाद यादवले जानकारी दिए । ‘यी बिउ कोशी प्रदेशमा रहेका कम्पनी, उद्योगबाट मधेशमा आएको पाइएको छ, ती उद्योगलाई कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन कोशी प्रदेशको बिउबिजन प्रयोगशालालाई पत्राचारसमेत गरेका छौँ,’ यादवले भने ।
जनकपुरमा रहेको मिरा बिज भण्डारका सञ्चालक मनोजकुमार कर्णले धानको बिउ नेपालकै कम्पनीबाट किनेर किसानलाई बिक्री गरिरहेको बताएका छन् । ‘हामीले विदेशबाट बिउ ल्याएका होइनौँ । नेपालकै कम्पनीले उत्पादन गरेको बिउ हो,’ उनले भने, ‘सिफारिस नै नभएको बिउ हो भन्ने थाहा थिएन । अहिले हामी मारमा परेका छौँ ।’
मधेश एग्रोभेटहरूले कोशी प्रदेशको पान सिड, कञ्चन सिड, मोरङको महारानी झोडास्थित साना किसान कृषि सहकारी संस्था, किसान बिउ उत्पादन उद्योग प्रालि, सादबहार एग्रोभेटलगायतबाट बिउ खरिद गरी किसानलाई बिक्री गरिरहेको भेटिएको प्रयोगशालाले जनाएको छ ।