एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरे । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो ।
इन्स्योरेन्स कम्पनीले १६औँ वार्षिक साधारणसभाबाट पारित हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद सेयर अर्थात् १:०.४२ अनुपातमा एक करोड ४२ लाख ७९ हजार तीन सय १२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ८२ करोड ७७ लाख ६७ हजार पाँच सय ५६ पुग्ने बताइएको छ ।
चालू आवको तेस्रो मसान्तसम्म कम्पनीको जीवन बिमा कोषमा ४१ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । त्यस्तै, सोही अवधिमा प्रथम बिमाशुल्क एक अर्ब २० करोड ६१ लाख, नवीकरण बिमा शुल्क चार अर्ब ५७ करोड ९२ लाख गरी कुल पाँच अर्ब ७८ करोड ५४ लाख बिमाशुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।