निकुञ्जले अवरोध गरेको विमानस्थल क्षेत्रमा डोजर लगाएर काम सुरु

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण कार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले अवरोध गरेको स्थानमा डोजर लगाएर काम सुरु गरिएको छ । गत वर्ष निकुञ्ज प्रशासनले सेना लगाएर विमानस्थलको काम अवरोध गरेको रत्न बाटिका क्षेत्रमा डोजर लगाएर पुनः काम सुचारु गरिएको हो । सोमबार विमानस्थल निर्माणको जिम्मा पाएको कान्छाराम कुमार श्रेष्ठ एन्ड कम्पनी जेभीले डोजर लगाएर एक वर्षदेखि रोकिएको काम सुरु गरेको छ । 

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्रबहादुर चन्दले निकुञ्ज प्रशासनले झन्डै तीन सय ४० मिटर लम्बाइ क्षेत्रमा नेपाली सेना लगाएर काम अवरोध गरेपछि अवरोध गरिएको विषय एक वर्ष कुर्दासमेत कुनै पहल नभएपछि जनताको उपस्थितिमा निर्माण कम्पनीका डोजरमार्फत माटो भरानकाे काम सुरु गरिएको बताए । ‘अहिले हामीले रत्न बाटिका क्षेत्रमा अवरोध गरेको स्थानका काम सुरु गरेका छौँ,’ उनले भने, ‘अब काम निरन्तर अघि बढ्छ, कसैले रोक्न खोजे त्यो विकासविरोधी हुन्छ ।’ 

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सञ्चार संयोजक ज्ञानेन्द्र महताेले विमानस्थलको दक्षिणतर्फ रहेको रत्न बाटिका र नेपाली सेनाले चर्चेको जमिनसहित लिएर धावनमार्ग निर्माण गर्ने योजना भए पनि गत वर्षदेखि सेनाले अवरोध गरेपछि रोकिएको काम सुरु भएको बताए । उनले अवरोध गरिएको स्थानमा उतापट्टि नेपाली सेना यतापट्टि आफूहरूको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले घेराकाबीच अवरोध गरिएको काम पुनः सञ्चालन गर्नुपर्ने बाध्यता आएको भन्दै यसमा निकुञ्ज प्रशासनले जिम्मेवार बन्नुपर्ने बताए ।

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका अध्यक्ष रमेश चन्द ठकुरीले जनताले विकास चाहिरहेका वेला सेना, निकुञ्जले अवरोधभन्दा सहजीकरण गरेर जनमुखी बन्नुपर्नेमा जोड दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा पर्ने रत्न बाटिकाको भोगाधिकारसहित इआइए गरेर काम गर्नुपर्ने जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले भोगाधिकारविनै काम सुरु गर्न थालेपछि रोकिएको र निकुञ्ज कार्यालयले सो विषयमा रायसहित मन्त्रालय पठाएको बताए । 

२७ वर्ष नियमित सञ्चालन भई २२ वर्षसम्म बन्द रहेको मझगाउँ विमानस्थल ०७८ देखि निर्माण कार्य सुरु भएको थियो ।  झन्डै २३ वर्षदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालन हुने भएको थियो।  ०३० सालदेखि ०५६ सालसम्म सञ्चालनमा रहे पनि सरकारले सुरक्षाको कारण देखाएर ०५६ सालदेखि ०८१ हालसम्म बन्द रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभागले ४५ करोड ६६ लाख २४ हजार सात सय १४ रुपैयाँमा रनवेसहितका अन्य कार्यका लागि कान्छाराम केएस उमा एन्ड कम्पनी जेभीले ठेक्का पाएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको मझगाउँ विमानस्थलको रनवे वृद्धि गर्नुपर्ने बताउँदै भविष्यलाई दूरदृष्टि राख्दै हाल साबिक रहेको एक हजार पाँच सय २५ मिटर वृद्धि गरेर दुई हजार पाँच सय मिटर लामो रनवे बनाउनुपर्ने बताएका थिए ।

झन्डै ६६ बिघा क्षेत्रफल र १५.२५ मिटर लम्बाइ रहेको विमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ ।  ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा विमानस्थल निर्माण हुनेछ । निर्माण कम्पनीले हालसम्म झन्डै नौ सय ६० मिटर रनवेको बेस तयार गरिसकेको जनाएको छ । 
 

सुझावित समाचार