राज्य पुनर्संरचनाका क्रममा इलामको तत्कालीन साकफारा गाविसलाई चुलाचुली गाउँपालिकामा गाभियो । मावा खोला पश्चिममा रहेको यो ठाउँको सिमाना दक्षिणमा मोरङको मिक्लाजुङसँग छ । उत्तरमा पाँचथरको मिक्लाजुङ, धनकुटाको राजारानीसम्म छुन्छ । विगतमा नौवटा वडा रहेको साकफारालाई एउटै वडामा गाभ्दै चुलाचुली गाउँपालिकाको वडा नम्बर ६ बनाइयो । तर, भौगोलिक विकटताका कारण वडा ठूलो हुँदा यहाँका नागरिकलाई झनै सास्ती खेप्नुपरेको छ । संघीयताले शक्तिलाई तहगत विभाजन गरे पनि चुलाचुली– ६ का स्थानीय ‘गाउँको सिंहदरबार’को पहुँचमा पुग्न अझै सकेका छैनन् ।
एउटै वडाको तीनवटा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता चुलाचुली– ६ लाई आइपरेको छ । ‘धान फल्ने चुरेको फेदीदेखि हिउँ पर्ने उच्च पहाड भएको वडा छ । भौगोलिक हिसाबले साह्रै दुःख पाइयो,’ चुलाचुली– ६ का वडाध्यक्ष दिलकुमार राईले भने, ‘भौगोलिक विकटताका कारण तीनवटा वडा कार्यालय सञ्चालन गर्नुपरेको छ ।’ वडा कार्यालयले चुरेको तल्लो क्षेत्रका लागि तोरीबारीमा सम्पर्क कार्यालय राखेको छ । कार्यालय गाउँपालिकाले आफैँ बनाएको पक्की भवनमा छ । त्यहाँ वडा सचिवसहित तीन कर्मचारी बस्छन् । दुईजना दैनिक ज्यालादारीमा रहेको वडाध्यक्ष राईले बताए ।
माथिल्लो क्षेत्र दशमी र तोरीबारीको बीचमा पर्ने रमितेमा पनि गाउँपालिकाले एकतले पक्की वडा कार्यालय बनाएको छ । यद्यपि, त्यहाँ संरचना मात्र निर्माण भएको छ । जनशक्ति अभावले सम्पर्क कार्यालय भने सञ्चालन गर्न सकेको छैन । जसकारण फुङनाम, साकफारा, रमितेलगायत क्षेत्रका नागरिकले तीन घण्टा यात्रा गरेर दशमीमा रहेको वडा कार्यालय वा तोरीबारीस्थित वडा सम्पर्क कार्यालय जानुपर्ने बाध्यता छ । वडाले दशमीमा मुख्य वडा कार्यालय चलाएको छ ।
चुलाचुली–६ का वडाध्यक्ष दिलकुमार राई भन्छन् – धान फल्ने चुरेको फेदीदेखि हिउँ पर्ने उच्च पहाड भएको वडा छ । भौगोलिक हिसाबले साह्रै दुःख पाइयो । भौगोलिक विकटताका कारण तीनवटा वडा कार्यालय सञ्चालन गर्नुपरेको छ ।
वडाको माथिल्लो क्षेत्रमा पर्ने दशमीकै स्थानीय हुन्, वडाध्यक्ष राई । तसर्थ, त्यहाँको वडा कार्यालयमा वडाध्यक्ष भेटिन्छन् । वडा कार्यालयमा एकजना कार्यालय सहयोगी र दुई प्राविधिक कर्मचारी मात्र छन् । प्राविधिक कर्मचारी गाउँ डुल्छन् । वडाध्यक्षलाई तलमाथि गर्दै समय बित्छ । वडा कार्यालयमा कार्यालय सहयोगी मात्र भेटिन्छन् ।
प्रायः दशमीको वडा कार्यालय सुनसान देखिन्छ । वडासचिव कहिलेकाहीँ मात्र आइपुग्छन् । वडासचिव नियमित नहुँदा नागरिकका काम गर्न भने सकस छ । ‘वडा कार्यालय त छ, तर कर्मचारी हुँदैनन् । सबै काम वडाध्यक्षबाट हुँदैन । वडासचिवबाट हुने काम गर्न त समस्या नै छ,’ दशमीकी स्थानीय कल्पना तामाङले भनिन्, ‘वडासचिवबाट हुने काम गर्नका लागि यहाँबाट सबै काम गरेर सही (हस्ताक्षर) गर्न तल (तोरीबारी) जानुपर्छ । हिउँदमा त बाइकमा दुई घण्टामा जसोतसो पुगिन्छ । बर्खा लागेपछि त दिनभरिमा पुग्न पनि मुस्किल हुन्छ । पछिल्लो दुई वर्षमा एक–दुईपटक मात्र यहाँ वडासचिव देखिए ।’
जनशक्ति अभावले जनताका काम चाहेअनुसार गर्न नसकिएको वडाध्यक्ष राईले बताए । ‘जनताकै सुविधाका लागि तीनवटा वडा कार्यालय बनायौँ । तर, जनशक्ति नहुँदा काम गर्न सकिएन,’ उनले भने, ‘तल (तोरीबारी) र माथि (दशमी)को काम गर्न कुद्दा–कुद्दै अरू काम त गर्न भ्याइँदैन । भूगोलले समस्या भएको छ ।’ ०७९ को निर्वाचन र गत १५ वैशाखमा भएको इलाम २ को उपनिर्वाचनमा मत माग्न पुगेका उम्मेदवारलाई स्थानीयवासीले वडा टुक्र्याउने प्रस्ताव पनि राखेका थिए ।
एउटा वडा ठूलो हुँदा अपेक्षाअनुसार काम हुन नसकेको भन्दै चुलाचुली– ६ लाई दुईवटा वडा बनाउन पहल गरिदिन नेता र जनप्रतिनिधिलाई आग्रह गर्दै आएको चुलाचुली– ६ फुङनामका गोपाल श्रेष्ठले बताए । ‘राज्य पुनर्संरचनाको समयमा तत्कालीन साकफारा गाविसलाई माङसेबुङ गाउँपालिका या चुलाचुलीमा मिसाउने भन्ने बहस थियो । हामी तराईसँग जोडिने भएकाले चुलाचुली जान चाह्यौँ । तर, साकफारालाई कतिवटा वडा बनाउने भन्ने कुनै छलफल गरिएन । यति ठूलो गाविसलाई एउटै बनाउँदा अहिले पछुताएका छौँ,’ उनले भने, ‘यहाँका जनताले सहज रूपमा सेवा पाउन सकेका छैनन् ।
वडालाई दुईवटा बनाउन पटक–पटक डेलिगेसन जाँदा पनि सरकारले जनताको माग सम्बोधन नगरेको दशमीकी शान्तिकला राई बताउँछिन् । ‘दुईवटा वडा हुँदा यहाँका नागरिकले दुःख पाउँदैन थिए । हामीले पटकपटक सरकारलाई भन्यौँ, तर सुनेन,’ उनले भनिन् ।
मोरङको मिक्लाजुङस्थित मधुमल्लासँग जोडिएका तोरीबारीवासीको माग पनि दुईवटा वडा बनाउनुपर्नेछ । चुलाचुली– ६ कै सुगम मानिएको यहाँका स्थानीय पनि वडा ठूलो हुँदा सास्ती व्यहोर्नुपरेको बताउँछन् । ‘वडालाई दुईवटा बनाउन माग गर्दै आएका छौँ । यो काम स्थानीय तहका जनप्रतिनिधिबाट मात्र नहुने रहेछ,’ चुलाचुली– ६ तोरीबारीका जितबहादुर मगरले भने, ‘वडाध्यक्ष दशमी बस्नुहुन्छ । भनेको वेलामा भेट्न पनि सकिँदैन । कतिपय काम वडाध्यक्षको हस्ताक्षरले मात्र हुन्छ । त्यस्तो वेलामा पर्खेर बस्न बाध्य छौँ ।’
वडाध्यक्ष राई आफूहरूले पनि दुईवटा वडा बनाउन माग गर्दै आएको बताउँछन् । ‘दुईवटा वडा हुँदा विकास निर्माणले गति लिन्थ्यो । यहाँका नागरिकको दैनिक काम पनि सहज हुन्थ्यो,’ उनले भने, ‘हामीले गाउँकार्यपालिकाको बैठकबाट दुईपटक निर्णय गरेर वडालाई दुईवटा बनाउन माग ग¥यौँ । तर, अहिलेसम्म माग सम्बोधन भएन । हामी वर्षैपिच्छे निर्णय गरेर पठाइरहन्छौँ,’ उनले भने ।