धनगढीमा शैक्षिक सुधारको प्रयास गर्ने सामुदायिक विद्यालयलाई सम्मान

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकाले हरेक महिना नगरभित्रका सामुदायिक विद्यालयमध्ये एउटालाई उत्कृष्ट विद्यालय घोषणा गरेर पुरस्कृत गर्न थालेको छ। 

धनगढी-२, स्थित शारदा माध्यमिक विद्यालयलाई वैशाख महिनाको उत्कृष्ट सामुदायिक विद्यालय घोषणा गरिएको छ। उपमहानगरमा भएका सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकमा सामुदायिक विद्यालयद्वारा सम्पादित शैक्षिक गतिविधिको प्रस्तुतीकरणका आधारमा उत्कृष्ट विद्यालय घोषणा गरिएको हो।

कार्यक्रममा उपमहानगरभित्र रहेका कुल ६८ वटा सामुदायिक विद्यालयमध्ये ३० वटा विद्यालयले गरेको प्रस्तुतीकणको मूल्यांकन गरिएको थियो। उत्कृष्ट घोषणा गरिएको शारदा माविलाई नगर प्रमुख गोपाल हमालले नगद १५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरे।

धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्ने उद्देश्यले गत ८ चैतमा सबै सामुदायिक विद्यालयहरूसँग कार्यसम्पादन सम्झौता गरेको थियो। उक्त सम्झौताअनुसार शैक्षिक सुधारका लागि निर्धारित सूचकहरूको कार्यान्वयनको सन्दर्भमा विद्यालयले गरेका प्रयासका आधारमा मासिक रूपमा उत्कृष्ट विद्यालय घोषणा गरिने उपमहानगरले जनाएको छ।

सम्मान पाएपछि शारदा माविका प्रधानाध्यापक तेजबहादुर सिंहले उत्कृष्ट विद्यालय घोषणा कार्यक्रमले सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि सकारात्मक प्रतिस्पर्धा गर्न, विद्यालयका असल अभ्यासहरूबाट आदान-प्रदान गर्न र विद्यालयलाई थप हौसला प्रदान गर्न मद्दत गर्ने बताए।

धनगढीले पछिल्लो समयमा शिक्षामा एकपछि अर्को उत्कृष्ट कार्यहरू गर्दै आएको र ती कार्यहरूले आफूहरूलाई समेत अझ प्रेरित भएर लाग्न मद्दत पुगेको कुरा पञ्चोदय मावि, हसनपुरका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए।

कार्यक्रममा नगर प्रमुख गोपाल हमालले विद्यालयको शैक्षिक सुधार शिक्षकबाटै सम्भव भएको र त्यो धनगढीका शिक्षकले प्रमाणितसमेत गरेको बताए।

सुझावित समाचार