महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी, युवा क्लब, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई गरेका विभिन्न सहयोगका कार्यक्रम सम्पन्न भएका छन् ।
बैंकको बेलौरी शाखाले इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषधसम्बन्धी जनचेतनामूलक बोर्ड हस्तान्तरण गरेको छ । वडा क्षेत्रभित्र लागुऔषध अपराधसम्बन्धी जनचेतनामूलक बोर्डहरू राखी त्यस्ता कार्यलाई निरुत्साहित गर्न मद्दत पुर्याउने उद्देश्यसहित बैंकले उक्त सहयोग गरेको जनाएको छ ।
त्यस्तै, कोटेश्वर शाखाले काठमाडौं महानगरपालिका–३२, कोटेश्वर समाज सुधार युवा क्लबलाई खानेपानीको ट्यांकी हस्तान्तरण गरेको छ भने इटहरी शाखाले इटहरी उपमहानगरपालिका–२०, तरहरा सुनसरीमा अवस्थित श्री बाल बहुभाषीय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
त्यसैगरी, सिसुवा शाखाद्वारा पोखरा महानगरपालिका–३० स्थित सिसुवा बजार क्षेत्रलाई समेट्ने गरी सिसी क्यामरा जडान गरिएको छ । उल्लिखित कार्यक्रम सँगसँगै बैंकको हेटौँडा शाखाद्वारा रोटरी क्लब अफ हेटौँडालाई डस्टबिन हस्तान्तरणसमेत गरेको बताइएको छ ।