एमाले बाराकाे अध्यक्षमा अध्यानन्द पाण्डे विजयी

आइतबार, २५ चैत, २०८०
डिजिटल संस्करण

पदाधिकारीमा टिना सुवेदीको प्यानल नै निर्वाचित

प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा पाण्डेले तीन सय ७७ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी सुवेदीले तीन सय ४३ मत ल्याइन् । 

निवर्तमान उपाध्यक्ष टिना सुवेदी र निवर्तमान सचिव अध्यानन्द पाण्डेबीच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो । दुवैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ अध्यक्षबाहेक सम्पूर्ण पदाधिकारीमा भने सुवेदीको प्यानल नै निर्वाचित भएको छ । 

उपाध्यक्षमा तीन सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले तीन सय ४० मत ल्याएका छन् । सचिवमा तीन सय ६३ मतका साथ अमृत शर्मा बजगाईं विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले तीन सय २७ मत पाएका छन् ।

उपसचिवमा जवाहिर अन्सारी तीन सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले तीन सय ४१ मत ल्याएका छन् । महिला उपसचिवमा भावना आचार्य तीन सय ६८ मतका साथ विजयी भएकी छिन् भने कमला घिमिरेले तीन सय २५ मत ल्याएकी छन् ।

नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । चैत १९ बाट सुरु भएको नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि २३ गते शुक्रबार रातिभरि मतदान भएको थियो ।

सुझावित समाचार