सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

मंगलबार, २० चैत, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि बिहीबार विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाइदिन मुख्यमन्त्रीले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्।

‘बिहीबार विश्वासको मत लिने भनेर मुख्यमन्त्रीज्यूको पत्र आज आइपुगेको छ। पर्सि दिउँसो ३ बजेतिर प्रदेश सभा बैठक बोलाउने तयारी छ,’ सभामुख भण्डारीले भने, ‘भोलि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्छ।’ बिहीबार बस्ने संसद् बैठकमा विश्वासको मत लिनेबाहेक अन्य कार्यतालिका नरहने उनले बताए।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि गत २३ फागुनमा माओवादी र २४ फागुनमा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका थिए। समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ।

कांग्रेसका १८ सिटसहित नागरिक उन्मुक्ति पार्टीका सात, एक सिट रहेको राप्रपा र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा बहुमतका लागि आवश्यक २७ मत पुर्याउने रणनीतिमा रहेका मुख्यमन्त्री शाह नागरिक उन्मुक्तिको विवादले अप्ठ्यारोमा छन्।

नागरिक उन्मुक्तिको विवाद अहिले अझ चर्किएकाले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना देखिएको छैन। बैठकमा नागरिक उन्मुक्तिका एक सांसद पनि अनुपस्थित भए पनि सरकारको पक्षमा बहुमत पुग्दैन।

राप्रपा र स्वतन्त्र सांसद समेतको समर्थनमा बहुमत जुटाउने रणनीतिअनुसार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका सात प्रदेश सांसदमध्ये पाँचजनालाई मन्त्री बनाएका छन्।

नागरिक उन्मुक्तिको विवादले विश्वासको मत पाउनेमा ढुक्क हुन नसकेका शाह आफ्नो पार्टीका सभापति शेरबहादुर देउवासँग परामर्श गर्न सोमबार बेलुकी काठमाडौं गएका छन्। काठमाडौंमा उनले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीसँग पनि छलफल गर्ने बताइएको छ।
 

सुझावित समाचार