४२ वर्षपछि फिर्ता ल्याइयो बाँसबारीमा हडपिएको १० रोपनी सरकारी जग्गा

शनिबार, १० चैत, २०८०
डिजिटल संस्करण
४२ वर्षपछि फिर्ता ल्याइयो बाँसबारीमा हडपिएको १० रोपनी सरकारी जग्गा

हिनामिना गरी हडपिएको जग्गामा चौधरी ग्रुपले चलाएको थियो चाँदबाग स्कुल । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

चौधरी ग्रुपले हडपेको बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । डिल्लीबजार मालपोत कार्यालयले शुक्रबार जग्गा सरकारका नाममा कायम गर्ने निर्णय गरेको हो । यससँगै तत्कालीन ‘च्याम्पियन फुटवेयर लिमिटेड’ हुँदै व्यक्तिको नाममा लगिएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा ४२ वर्षपछि सरकारका नाममै फिर्ता आएको छ । यस सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । 

मालपोत ऐन, २०३४ को दफा २४ प्रयोग गरेर मालपोत कार्यालयले जग्गा सरकारका नाममा कायम गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले बताए । सो दफामा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा दर्ता गर्न वा आवाद गर्न नहुने व्यवस्था छ । यसैबमोजिम व्यक्तिका नाममा पुगेको सरकारी जग्गा फिर्ता ल्याइएको उनले बताए । 

उक्त दफाको उपदफा १ मा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्तिविशेषका नाममा दर्ता वा आवाद गर्न÷गराउन नपाउने व्यवस्था छ । उपदफा २ मा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता गरी आवाद गरेकामा त्यस्तो दर्ता स्वतः बदर हुने व्यवस्था छ । त्यस्तो जग्गाको व्यक्तिविशेषका नाममा रहेको दर्ता लगतसमेत मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले कट्टा गर्ने व्यवस्था ऐनमा गरिएको छ । 

यही व्यवस्थामा टेकेर मालपोत कार्यालयले जग्गा सरकारी कायम गरेको हो । ‘सरकारी जग्गा व्यक्तिविशेषका नाममा दर्ता भएको भेटिए मालपोत अधिकृतले त्यस्तो दर्ता बदर गर्न सक्ने व्यवस्था मालपोत ऐनमा छ,’ मन्त्रालयका प्रवक्ता भट्टले भने, ‘यसको अधिकार सम्बन्धित मालपोत कार्यालयलाई नै छ । यसैबमोजिम डिल्लीबजार मालपोत कार्यालयले विभिन्न मितिमा व्यक्तिका नाममा पुगेको बाँसबारीको १० रोपनी सरकारी जग्गाफिर्ता ल्याउने निर्णय गरेको छ ।’ 

बाँसबारीको जग्गा हिनामिना प्रकरणमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ । जग्गा हिनामिनाको आरोप लागेका कांग्रेस सांसद एवं उद्योगी विनोद चौधरीसँग बिहीबार सिआइबी र सरकारी वकिल कार्यालयले संयुक्त रूपमा बयान लिएका थिए । अघिल्लो दिन बुधबार सिआइबीले भाइ वसन्त चौधरीको पनि बयान लिइसकेको छ । 

अनुसन्धानका क्रममा सिआइबीले विनोद चौधरीका भाइ अरुण, तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत १८ माघमै पक्राउ गरेको थियो । ६ दिनको हिरासतपछि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको छ ।

अनुसन्धानका क्रममा आरोपितसँग बयान थालेसँगै सिआइबीले हडपिएको जग्गा सरकारका नाममा अद्यावधिक कायम गर्न मालपोतलाई पत्राचार गरेको थियो । सिआइबीको पत्रपछि मालपोतले जग्गा सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको थियो । यसका लागि चाँदबाग रेसिडेन्सी प्रालिलाई विभिन्न चरणमा पत्राचार गरेको थियो । तर, प्रालिले आवश्यक प्रमाण पेस गर्न नसकेपछि कार्यालयले प्रालिको दर्ता खारेज गरेर सरकारका नाममा अद्यावधिक कायम गरेको हो । 

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा तत्कालीन ‘च्याम्पियन फुटवेयर लिमिटेड’ हुँदै सिजी चाँदबाग रेसिडेन्सी प्रालिका नाममा लगिएको थियो । त्यहाँ चौधरी ग्रुपले चाँदबाग स्कुल सञ्चालन गरिरहेको छ । यद्यपि, बयानका क्रममा विनोद चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा नियमसंगत नै लिएको दाबी गरेका छन् । ४२ वर्षअघि बाँसबारी क्षेत्र विकट भएको, सोहीअनुसार जग्गाको मूल्यांकन निर्धारण भएको र सेयरबापत उक्त रकम भुक्तानी गरेरै जग्गा लिइएको चौधरीको जवाफ छ । 

मालपोत ऐनअनुसार १० रोपनी जग्गा फिर्ता ल्याउने निर्णय भएको छ : गणेशप्रसाद भट्ट, प्रवक्ता, भूमि व्यवस्था मन्त्रालय
मालपोत ऐन, २०३४ को दफा २४ प्रयोग गरेर मालपोत कार्यालयले जग्गा सरकारका नाममा कायम गर्ने निर्णय गरेको हो । मालपोत ऐनको दफा २४ मा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा दर्ता गर्न वा आवाद गर्न नहुने व्यवस्था छ ।

सरकारी जग्गा व्यक्तिविशेषका नाममा दर्ता भएको भेटिए मालपोत अधिकृतले त्यस्तो दर्ता बदर गर्न सक्ने व्यवस्था मालपोत ऐनमा छ । यसको अधिकार सम्बन्धित मालपोत कार्यालयलाई नै छ । यसैबमोजिम डिल्लीबजार मालपोत कार्यालयले विभिन्न मितिमा व्यक्तिका नाममा पुगेको बाँसबारीको १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउने निर्णय गरेको छ ।

सुझावित समाचार